YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 7:1-21

उत्‍पत्ति 7:1-21 NNRV

तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्‍तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। सबै जातका शुद्ध पशुहरूमध्‍येका सात जोड़ी, अर्थात्‌ भाले र पोथी, र जुन-जुन शुद्ध छैनन्‌ तिनीहरूमध्‍येका दुई, अर्थात्‌ भाले र पोथी, र पक्षीहरूमध्‍येका पनि सात जोड़ी, अर्थात्‌ भाले र पोथी समस्‍त पृथ्‍वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्‍न तिनीहरूलाई तैंले ल्‍याउनू। अबको सात दिनमा म पृथ्‍वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्‍वीबाट नाश गर्नेछु।” तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे। नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्‍नलाई जहाजमा गए। शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी परमेश्‍वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात्‌ भाले र पोथी नोआकहाँ जहाजमा आए। अनि ठीक सात दिनपछि पृथ्‍वीमा जलप्रलयको पानी पर्न लाग्‍यो। नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले। अनि चालीस दिन र रातसम्‍म पृथ्‍वीमा पानी परिरह्यो। ठीक त्‍यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्‍नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। तिनीहरू र आ-आफ्‍नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्‍नो जातका सबै थरीका पक्षीहरू पसे। जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए। परमेश्‍वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्‍यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो। पृथ्‍वीमा चालीस दिनसम्‍म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्‍न लाग्‍यो र त्‍यो जमिनबाट माथि जान लाग्‍यो। पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्‍वीमा भरिन लाग्‍यो, र जहाज पानी माथि-माथि उत्रन लाग्‍यो। पानी पृथ्‍वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्‍मै अल्‍गा-अल्‍गा पर्वतहरू ढाकिए। पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्‍म डुबाइदियो। पृथ्‍वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे।