YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 5:1-32

उत्‍पत्ति 5:1-32 NNRV

आदमको लिखित वंश-विवरण यही हो। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले उनलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो। तिनीहरूको सृष्‍टि भएको दिन उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र “मानिस” नाउँ दिनुभयो। आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्‍नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे। शेतको जन्‍म भएपछि आदम आठ सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। आदमको जम्‍मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे। शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो। एनोश जन्‍मेपछि शेत आठ सय सात वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। शेतको जम्‍मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि उनी मरे। एनोशको उमेर नब्‍बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। केनान जन्‍मेपछि एनोश आठ सय पन्‍ध्र वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। एनोशको जम्‍मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे। केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो। महलालेल जन्‍मेपछि केनान आठ सय चालीस वर्षसम्‍म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्‍मे। केनानको जम्‍मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे। महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो। येरेद जन्‍मेपछि महलालेल आठ सय तीस वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। महलालेलको जम्‍मा उमेर आठ सय पञ्‍चानब्‍बे वर्ष भएको थियो। अनि उनी मरे। येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो। हनोक जन्‍मेपछि येरेद आठ सय वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। येरेदको जम्‍मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे। हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो। मतूशेलह जन्‍मेपछि हनोक तीन सय वर्षसम्‍म परमेश्‍वरको साथसाथ हिँड्‌दैरहे। उनका अरू छोराछोरीहरू जन्‍मे। हनोकको जम्‍मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो। हनोक परमेश्‍वरको साथसाथ हिँड्‌थे। अनि उनी अलप भए, किनभने परमेश्‍वरले उनलाई उठाइलानुभयो। मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो। लेमेक जन्‍मेपछि मतूशेलह सात सय बयासी वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। मतूशेलहको जम्‍मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे। लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो। उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्‍ति दिनेछ।” नोआ जन्‍मेपछि लेमेक पाँच सय पञ्‍चानब्‍बे वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। लेमेकको जम्‍मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे। नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।