YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 45:1-15

उत्‍पत्ति 45:1-15 NNRV

तब आफ्‍ना वरिपरि उभिने सबै सेवकका सामुन्‍ने आफूलाई सम्‍हाल्‍न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्‍ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्‍यहाँ अरू कोही थिएन। अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए। योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्‍छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्‍ने उनीहरू डराएका थिए। तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो। “यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई फारोका बुबातुल्‍य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्‍याउनुभएको छ। अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्‍छ: परमेश्‍वरले मलाई सारा मिश्रका मालिक तुल्‍याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्‌। तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्‍चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्‌। त्‍यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्‌।’ “अब तिमीहरूसँग बोल्‍ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्‍नै आँखाले र मेरो भाइ बेन्‍यामीनले पनि देखेका छौ। मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्‍य भन्‍नू, र झट्टै मेरा बुबालाई यहाँ ल्‍याउनू।” तब आफ्‍नो भाइ बेन्‍यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्‍यामीन पनि तिनको गलामा टाँसिएर रोए। अनि तिनले आफ्‍ना सबै दाजुहरूलाई म्‍वाइँ खाए, र उनीहरूसित रोए। त्‍यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।