YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 37:26-36

उत्‍पत्ति 37:26-36 NNRV

तब यहूदाले आफ्‍ना दाजुभाइहरूलाई भने, “हामीले आफ्‍नो भाइलाई मारेर त्‍यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्‍छ र? आओ, अब त्‍यसलाई इश्‍माएलीहरूका हातमा बेचिदिऔं। हामी त्‍यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्‍यो हाम्रै भाइ, हाम्रै जीउजस्‍तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने। यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे। जब रूबेन खाल्‍डोमा फर्के तब योसेफलाई त्‍यस खाल्‍डोमा नदेख्‍दा उनले आफ्‍ना लुगा च्‍याते, र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?” तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्‍यस रगतमा चोपे। अनि त्‍यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्‍ना बुबाकहाँ ल्‍याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस्‌ त, यो तपाईंको छोराको हो कि होइन?” इस्राएलले त्‍यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे! नि‍स्सन्‍देह योसेफलाई धुजाधुजा पार्‍यो होला।” तब याकूबले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे। तिनका सबै छोराछोरीहरूले तिनलाई सान्‍त्‍वना दिने प्रयत्‍न गरे, तर तिनलाई शान्‍ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्‍ति बिलौना गरे। यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।