केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।” उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?” अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।” उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।” अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेड़ालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि गरे। यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।
उत्पत्ति 22 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 22:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू