साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए। त्यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्म निहुरेर दण्डवत् गरी भने, “हजूर, कृपा गरी आफ्नो दासको घरमा पाल्नुहोस्, र त्यहीँ रात बिताउनुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र बिहान सबेरै उठेर जानुहोस्।”
उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्नेछौं।”
तिनले उनीहरूलाई ज्यादै ढिपी लाएर बिन्ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्ने राखिदिए, र उनीहरूले खाए। उनीहरू सुत्न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे। तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्याऊ, र हामी उनीहरूसँग भोग गरौं।”
लोत ढोकाबाहिर तिनीहरूकहाँ गएर ढोकाचाहिँ आफ्नो पछिल्तिर थुनिदिए, र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्। कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्याइदिनेछु। तपाईंहरूको इच्छाअनुसार तिनीहरूसित व्यवहार गर्नुहोस्। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्।”
तर तिनीहरूले भने, “पछि हट्।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्यायकर्ता हुन खोज्दोरहेछ। अब उनीहरूलाई भन्दा तँलाई हामी नराम्रो व्यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।
तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए, र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्मै मानिसहरूलाई अन्धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्।
ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ, किनभने हामी यस ठाउँलाई नष्ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”
यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो।
उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।”
जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो। तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एक जनाले भने, “आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्म हुनेछौ।”
तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्यसो नहोस्। हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्न सक्दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु। हेर्नुहोस्, ऊ त्यो सहर भाग्नलाई नजिकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीँ नै भाग्न दिनुहोस्— त्यो साह्रै सानो छैन र? त्यहाँ गए मेरो प्राण बाँच्ला।”
उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्म गर्नेछैनँ। चाँड़ो गरेर त्यहीँ नै भागिजा, किनकि तँ त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” (यसैले त्यस सहरको नाउँ सोअर राखियो।)
लोत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो। तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक बर्साउनुभयो। यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो। तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्।