गलाती पुस्तक परिचय
पुस्तक परिचय
गलातियाचाहिँ रोमी साम्राज्यको मध्यपूर्वीय एशियामा भएको एउटा प्रदेश थियो, जुन स्थान अहिले टर्की भन्ने आधुनिक देशको मध्ये भागमा पर्दछ। गलातीहरूलाई लेखिएको पावलको पत्र एउटा ख्रीष्टियान मण्डलीलाई मात्र लेखिएको थिएन, तर गलातिया प्रदेशमा रहेका विभिन्न सहरका मण्डलीहरूलाई लेखिएको थियो, जुन मण्डलीहरूको पावल आफैले स्थापना गरेका थिए। यी मण्डलीहरू कुन-कुन सहरका थिए भन्ने कुरा अहिलेसम्म बाइबलका विद्वानहरूलाई निश्चित थाहा छैन। कसैले उत्तर गलातियाका सहरहरू भन्छन्, कसैले दक्षिण गलातियाका भन्छन्। कुन सालमा यो पत्र लेखिएको हो भन्ने कुरा पनि निश्चय छैन। कसैले ईस्वी सम्बत् ४८-४९ मा भन्छन, कसैले ईस्वी सम्बत् ५४-५६ मा भन्छन्। जुन सालमा भएपनि पावलले पहिले लेखेका पत्रहरू मध्ये यो पत्रचाहिँ एउटा थियो।
गलातीहरूलाई पावलले किन पत्र लेखेका थिए भन्ने कुरा यो पत्र पढेर स्पष्ट बुझिन्छ। गलातियामा भएका यी अन्यजाति मण्डलीहरूलाई स्थापना गर्ने बित्तिकै, अन्तबाट कोही यहूदी ख्रीष्टियानहरू यी मण्डलीमा आएर पावलको शिक्षाको विरोध गर्न थालेका थिए।
पावलको मुख्य शिक्षा यो थियो: अनुग्रहबाट विश्वासद्वारा मात्र मानिसले उद्वार पाउन सक्छ (एफिसी २:८)। तर भूलमा परेका यी यहूदी ख्रीष्टियानहरूले गलातीहरूलाई उद्वार पाउनलाई परमेश्वरको अनुग्रहले मात्र पुग्दैन, तर यहूदी व्यवस्था पनि मान्न आवश्यक छ भनी सिकाए। यो झूटो शिक्षा भएको कारणले गलातीहरूका सम्बन्धमा पावललाई ठूलो चिन्ता थियो, किनभने गलातीहरूले यस्तो शिक्षा मानेका भए, पावलको अनुग्रहको सुसमाचार बेकम्मा हुन जानेथियो। जुन अनुग्रह गलातीहरूले पाएका थिए, त्यो अनुग्रह यस झूटा शिक्षाले गर्दा तिनीहरूले गुमाउन लागेका थिए।
ख्रीष्टियान मण्डलीको इतिहासमा गलातीहरूलाई लेखिएको यो पत्र ज्यादै महत्वपूर्ण भएको छ। किनभने यही पत्र पढेको कारणले मार्टीन लूथरले सोह्रौ शताब्दीमा त्यस बेलाको मण्डलीमा आएको झूटा शिक्षा चिने, र त्यस झूटा शिक्षाको विरूद्धमा प्रोटेस्टेन्ट अभियान सुरु गरे। किनभने गलातीहरूलाई लेखिएको यही पत्र पढेर मार्टीन लूथरले ख्रीष्टको सुसमाचारको मुख्य शिक्षा बल्लबल्ल बुझे, अर्थात् कुनै मण्डलीबाट वा व्यवस्थाको कामबाट होइन तर अनुग्रहबाट मात्रै मानिसले उद्धार पाउन सक्छ।
संसारभरिका मानिसहरू आफ्नो काम र प्रयत्नबाट उद्धार पाउन खोज्छन्। तिनीहरूले विभिन्न धार्मिक-विधानहरू मानेर परमेश्वलाई खुशी तुल्याउन कोसिस गर्छन्। तिनीहरू आफ्नो शक्तिले पवित्र हुन प्रयास गर्छन्। तर यी सब प्रयत्न व्यर्थै छन्। परमेश्वरको अनुग्रहबाट मात्र हामी पवित्र हुन सक्छौं र उद्धार पाउन सक्छौं। परमेश्वरले आफ्नो अपार प्रेम र दयाले गर्दा हामी पापी मानिसहरूलाई स्वर्गमा जाने ढोका खोलिदिनुभएको छ, अर्थात् येशू ख्रीष्टमा विश्वास। गलातीहरूलाई लेखिएको यो पत्रको मुख्य शिक्षा यही नै हो।
पावलको जीवनको विषयमा अझ पढ्नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्।
अहिले सेलेक्ट गरिएको:
गलाती पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012