हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं। भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छापत्र कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ। प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले “सन्तानहरूलाई” भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ। तर धर्मशास्त्रले “तिम्रो सन्तानलाई” भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ। मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो। किनकि उत्तराधिकार व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो। तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्जेल अपराधको कारणले व्यवस्था थपियो। अनि एक जना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। एउटैको मात्र मध्यस्थ हुँदैन, तर परमेश्वर एउटै हुनुहुन्छ। तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्ने व्यवस्था दिइएको भए, धार्मिकता साँच्चै व्यवस्थाबाट हुनेथियो। तर धर्मशास्त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्टमाथि विश्वासद्वारा दिइएको थियो, त्यो विश्वास गर्नेहरूलाई दिइओस्। तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं, र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं। विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो। तर अब विश्वास आएको हुनाले अब उप्रान्त हामी संरक्षकको अधीनमा छैनौं। किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ। किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ। यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।
गलाती 3 पढ्नुहोस्
सुन्नुहोस् गलाती 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 3:13-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू