एज्रा 3
3
वेदीको पुनर्स्थापना
1सातौँ महिना लागेपछि इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। त्यस बेला मानिसहरू एउटै मानिसजस्तो भएर यरूशलेममा भेला भए। 2तब परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्वरको वेदी निर्माण गर्ने काममा लागे। #प्रस २७:१ 3आफ्ना वरिपरिका जनताको डर तिनीहरूमा भए तापनि तिनीहरूले वेदी त्यसको जगमाथि निर्माण गरे र त्यसै वेदीमा तिनीहरूले परमप्रभुको निम्ति बिहान र बेलुकीका दुवै समयका बलिदानमा होमबलि चढ़ाए। #गन्ती २८:१-८ 4त्यसपछि प्रतिदिनको निम्ति तोकिएको संख्याअनुसार होमबलिका साथ तिनीहरूले तोकिएबमोजिम छाप्रोवासको चाड़ मनाए। #गन्ती २९:१२-३८ 5यीबाहेक नित्य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्ति ल्याएका सबै स्वेच्छा भेटी चढ़ाए। #गन्ती २८:११—२९:३९ 6परमप्रभुका भवनको जग हालसम्म बसालिएको नभए तापनि सातौँ महिनाको पहिलो दिनमा तिनीहरूले होमबलि चढ़ाउन सुरु गरे।
मन्दिरको पुनर्निर्माण
7तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्म देवदारुका काठहरू ल्याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।
8यरूशलेममा भएको परमेश्वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात् पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्यसभन्दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे। 9परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।
10जब बनाउनेहरूले परमप्रभुका मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात् आसापका छोराहरू) झ्यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्ना स्थान लिए। #१ इति २५:१ 11तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिँदै यसो भनेर गाए, #१ इति १६:३४; २ इति ५:१३; ७:३; भज १००:५; १०६:१; १०७:१; ११८:१; १३६:१; यर ३३:११
उहाँ असल हुनुहुन्छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्छ।”
अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्तुति गरे। 12तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्दले जयजयकार गरे। 13आनन्दले कराएको सोर र रोएको सोर कसैले ठम्याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्यो आवाज टाढ़ा-टाढ़ासम्म पनि सुनिन्थ्यो।
अहिले सेलेक्ट गरिएको:
एज्रा 3: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012