YouVersion लोगो
खोज आइकन

इजकिएल 36:22-32

इजकिएल 36:22-32 NNRV

“यसैकारण इस्राएलका घरानालाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका घराना हो, तिमीहरूकै खातिर म यी कामहरू गर्नेछैनँ, तर मेरो पवित्र नाउँको खातिर यी गर्नेछु, जुन नाउँलाई तिमीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारेका छौ। म मेरो महान्‌ नाउँको पवित्रता देखाउनेछु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ, जुन नाउँ तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफैलाई तिमीहरूद्वारा तिनीहरूका अगि पवित्र प्रकट गर्नेछु, तब जाति-जातिहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। “‘किनकि म जाति-जातिहरूबाट तिमीहरूलाई निकाल्‍नेछु, र सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, र तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा ल्‍याउनेछु। म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्‍याउनेछु। म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। अनि म मेरा आत्‍मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्‍ने तुल्‍याउनेछु। मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु। तिमीहरूलाई अशुद्ध पार्ने सबै कुरादेखि म तिमीहरूलाई जोगाउनेछु। म आज्ञा दिनेछु, र अन्‍न प्रशस्‍त हुनेछ, र म तिमीहरूमाथि फेरि कहिल्‍यै अनिकाल पठाउनेछैनँ। म रूखहरूका फललाई र खेतको अन्‍नलाई प्रशस्‍त तुल्‍याउनेछु, यतिसम्‍म कि अनिकालले गर्दा जातिहरूका बीचमा तिमीहरू फेरि कहिल्‍यै शर्ममा पर्नेछैनौ। तब तिमीहरूले आफ्‍ना दुष्‍ट चाल र खराब कामहरूको सम्‍झना गर्नेछौ, र आफ्‍ना पापहरू र घिनलाग्‍दा चालहरूको कारण तिमीहरू आफैलाई घृणा गर्नेछौ। तिमीहरूकै खातिर मैले यी काम गरिरहेको होइनँ भन्‍ने कुराचाहिँ तिमीहरूले बुझेको म चाहन्‍छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। हे इस्राएलका घराना हो, तिमीहरूका चालचलनको कारण तिमीहरू लज्‍जित र अपमानित होओ।