इजकिएल 28
28
टुरोसको राजाको विरुद्धमा अगमवाणी
1परमप्रभुको यो वचन मकहाँ आयो: 2“हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
“तेरो हृदयको घमण्डमा तँ भन्छस्, ‘म एउटा देवता हुँ। म समुद्रको बीचमा एउटा देवताको सिंहासनमा बस्तछु!’
तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान् सम्झन्छस्।
3के तँ दानिएलभन्दा पनि बुद्धिमान् छस्? के तँबाट कुनै गुप्त कुरा लुकिएको छैन र?
4तेरो बुद्धि र समझशक्तिले तैंले आफ्नो निम्ति धेरै धन-सम्पत्ति प्राप्त गरेको छस्,
र तैंले आफ्ना भण्डारहरूमा सुन र चाँदी थुपारेको छस्।
5व्यापारमा ठूलो निपुणता देखाएर तैंले आफ्नो धन-सम्पत्ति बढ़ाएको छस्,
र तेरो धन-सम्पत्तिको कारण तेरो हृदय घमण्डले फुलेको छ।
6“‘यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
“‘तैंले आफूलाई एउटा देवताजत्तिकै बुद्धिमान् ठान्छस्,
7यसकारण जाति-जातिहरूमा सबैभन्दा क्रूर विदेशीहरूलाई म तँकहाँ ल्याउनेछु। तिनीहरूले आफ्ना तरवार तेरो सौन्दर्य र बुद्धिको विरुद्धमा थुत्नेछन्,
र तेरो चमत्कारपूर्ण गौरवलाई वारपार छेड्नेछन्।
8तिनीहरूले तँलाई मृत-लोकमा पुर्याउनेछन्,
र हिंसक वेगसित तँ समुद्रमा मर्नेछस्।
9तब तँलाई मार्नेहरूका सामुन्ने के तँ अझै पनि “म देवता हुँ” भन्नेछस् र? तँलाई मार्नेहरूका हातमा तँ मानिस मात्र हुनेछस्, एक देवता होइन।
10विदेशीहरूका हातमा तँ बेखतनाको मृत्युमा मर्नेछस्।
मैले यो भनेको छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
11परमप्रभुको यो वचन मकहाँ आयो: 12“हे मानिसको छोरो, टुरोसका राजाको विषयमा विलाप गर्, र त्यसलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
“‘तँ त सिद्धताको एक नमूना थिइस्,
र बुद्धिले पूर्ण सर्वाङ्गसुन्दर।
13परमेश्वरको बगैँचा अदनमा तँ थिइस्। हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्— मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।
14अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्वरको पवित्र पर्वतमा तँ थिइस्। अग्निमय पत्थरहरूका बीचमा तँ हिँड्थिस्।
15तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्।
16तेरा चारैतिरका व्यापारद्वारा तँ उपद्रवले भरिइस्,
र तैंले पाप गरिस्। यसैले मैले तँलाई परमेश्वरको पर्वतबाट अपमान गरी खेदिदिएँ,
र हे अभिभावक करूब, मैले तँलाई अग्निमय पत्थरहरूका बीचदेखि धपाइदिएँ।
17तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैंले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस्। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए।
18तेरा धेरै पापहरू र बेईमान व्यापारद्वारा तैंले तेरा पवित्रस्थानहरूलाई बिटुलो पारेको छस्। यसैले गर्दा मैले तँबाटै एउटा आगो निकालिदिएँ,
र त्यसले नै तँलाई भस्म पार्यो। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्टिमा मैले तँलाई जमिनमा खरानी तुल्याइदिएँ।
19जाति-जातिहरूमा तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुन्छन्। तँ एक डरलाग्दो अन्त्यमा आइपुगेको छस्,
र तँ फेरि कहिल्यै रहनेछैनस्।
सीदोनको विरुद्धमा अगमवाणी
20परमप्रभुको यो वचन मकहाँ आयो: #योए ३:४-८; जक ९:१-२; मत्ती ११:२१-२२; लूक १०:१३-१४ 21“हे मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा यो अगमवाणी गर्, 22र भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
“‘हे सीदोन, म तेरो विरुद्धमा छु, तँभित्रै म महिमा प्राप्त गर्नेछु। जब म त्यसलाई दण्ड दिनेछु,
र मेरो पवित्रता त्यसभित्रै प्रकट गर्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
23म त्यसमाथि एउटा रूढ़ी पठाउनेछु,
र त्यसका गल्लीहरूमा म रगत बगाउनेछु। त्यसका चारैतिर त्यसको विरुद्धमा भएको तरवारले मारिएकाहरू त्यसभित्रै ढल्नेछन्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।
24“‘इस्राएलका मानिसहरूलाई द्वेष गर्ने छिमेकीहरू, जो दु:ख दिने सिउँड़ी र तीखा काँढ़ाहरू हुन्, ती अब कहिल्यै हुनेछैनन्। तब तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन्।
25“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरू छरपष्ट भएका जाति-जातिहरूबाट जब इस्राएलका मानिसहरूलाई म भेला गर्छु, तब तिनीहरूका बीचमा म जाति-जातिहरूका दृष्टिमा आफैलाई पवित्र गर्नेछु। अनि मेरो दास याकूबलाई मैले दिएको तिनीहरूको आफ्नै देशमा तिनीहरू बस्नेछन्। 26तिनीहरू त्यहाँ सुरक्षित रहनेछन्, र तिनीहरूले घरहरू बनाउनेछन् र दाखबारी लगाउनेछन्। तिनीहरूलाई घृणा गर्ने सबैलाई म दण्ड दिन्छु, तब तिनीहरू त्यहाँ सुरक्षित रहनेछन्। तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्’।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 28: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012