इजकिएल 26
26
टुरोसको विरुद्धमा अगमवाणी
1एघारौँ वर्षको महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो: #यशै २३:१-१८; योए ३:४-८; आमो १:९-१०; जक ९:१-४; मत्ती ११:२१-२२; लूक १०:१३-१४ 2“हे मानिसको छोरो, किनभने यरूशलेमको बारेमा टुरोस सहरले यसो भन्यो, ‘अहा! जाति-जातिहरूका सामुन्ने मूल ढोका भत्केको छ। ढोकाहरू मेरो निम्ति उघारिएका छन्। त्यो ध्वंस भयो, अब मेरो उन्नति हुनेछ’। 3यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए टुरोस सहर, म तेरो विरुद्धमा छु। समुद्रले छालहरू ल्याएझैँ म धेरै जातिहरूलाई तेरो विरुद्धमा ल्याउनेछु। 4उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढालिदिनेछन्। म त्यसको ढुङ्गाहरू खुर्की-खुर्कीकन त्यसलाई नाङ्गो पहराजस्तै तुल्याइदिनेछु। 5त्यो समुद्रको बीचमा जालहरू फिँजाउने ठाउँ हुनेछ, किनभने मैले भनेको छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। जाति-जातिहरूका निम्ति लूटको माल त्यो हुनेछ, 6र देशका बस्तीहरूमा बस्ने मानिसहरू तरवारले मारिनेछन्। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
7“किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म उत्तरबाट राजाहरूको राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोड़ाहरू, रथहरू, घोड़चढ़ी र एउटा ठूलो सेना लिएर टुरोसको विरुद्धमा चढ़ाइ गर्न ल्याउनेछु। 8त्यसले देशका बस्ती-बस्तीमा बस्ने मानिसहरूलाई तरवारले मार्नेछ। त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, तेरा पर्खालहरूमा आड़ लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ। 9त्यसले पर्खाल भत्काउने मूढ़ाहरूद्वारा तेरा पर्खालहरू भत्काउनेछ, र त्यसका हातहतियारहरूद्वारा तेरा धरहराहरू ढालिदिनेछ। 10त्यसका घोड़ाहरू यति धेरै हुनेछन्, कि तिनीहरूले उड़ाएको धूलोले तँलाई ढाक्नेछ। कुनै एउटा सहरभित्र छिरिजानलाई मानिसहरूले पर्खाल भत्काउनेजस्तै जब त्यो तेरा ढोकाहरूभित्र पस्छ, तब युद्धका घोड़ाहरू, गाढ़ाहरू र रथहरूको आवाजले तेरो सहरका पर्खालहरू हल्लिनेछन्। 11त्यसका घोड़ाका टापहरूले तेरा सबै सड़कहरू कुल्चीमिल्ची पार्नेछन्। त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया-बलिया खामाहरू जमिनमा ढल्नेछन्। 12उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, तेरा व्यापारका मालहरू लूटपीट गरी लैजानेछन्। उनीहरूले तेरा पर्खालहरू ढालिदिनेछन् र तेरा सुन्दर-सुन्दर घरहरू भत्काइदिनेछन्। तेरा ढुङ्गा र काठपात, कलङ्कसमेत उनीहरूले समुद्रमा फ्याँकिदिनेछन्। 13म तेरो गोलमाले गीतको सोर खतम गरिदिनेछु। तेरा वीणाहरूको सङ्गीत फेरि कहिल्यै सुनिनेछैन। #प्रका १८:२२ 14म तँलाई नाङ्गो पहरा तुल्याइदिनेछु र, तँ जालहरू फिँजाउने ठाउँ हुनेछस्। तँ फेरि कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’।
15“परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ: घाइतेहरूले जब कष्टको सोर निकाल्छन्, जब तेरो बीचमा मारकाट हुनेछ, तब तँ ढलेको सोर सुनेर के समुद्र-किनारका मुलुकहरू काम्नेछैनन्? 16तब समुद्र-किनारका मुलुकका सबै राजकुमारहरू आ-आफ्नो सिंहासनबाट ओर्लेर आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन्। त्रासले तिनीहरू थरथराउनेछन्। तिनीहरू भूइँमा बस्नेछन्, र छिन-छिनमा काम्दैरहनेछन्, र तँलाई देखेर भयभीत हुनेछन्। #प्रका १८:९-१० 17तब तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्:
“‘समुद्रका मानिसहरूले भरिपूर्ण भएकी, ए प्रसिद्ध सहर, तँ कसरी लोप भइस्! तँ र तेरा बासिन्दाहरू समुद्रमा शक्तिशाली थिए, त्यहाँ बस्ने सबैलाई तैंले थर्कमान तुल्याएकी थिइस्।
18अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन्। तँ ढलेर गएकी देखेर समुद्रका टापूहरू त्रासमा परेका छन्।’
19“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जब म तँलाई मानिसहरू नभएका सहरहरूजस्तै एउटा उजाड़िएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तँमाथि उर्लाउँछु, र त्यसका ठूला-ठूला छालहरूले तँलाई ढाक्छन्, 20तब म तँलाई मृत-लोकमा जानेहरूसित ती तादिका मानिसहरूकहाँ तल खसालिदिनेछु। म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु, र तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर रहनेछैनस्। 21म तेरो अन्त्य डरलाग्दो तुल्याउनेछु, र म तँलाई निमिठ्यान्न पार्नेछु। तेरो खोजी हुनेछ तर कसैले तँलाई भेट्टाउने छैन, परमप्रभु परमेश्वर भन्नुहुन्छ।” #प्रका १८:२१
अहिले सेलेक्ट गरिएको:
इजकिएल 26: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012