प्रस्थान 35
35
शबाथ-दिनको विधि
1मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्: 2छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्। #प्रस २०:८-११; २३:१२; ३१:१५; ३४:२१; लेवी २३:३; व्य ५:१२-१४ 3तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू।”
पवित्र वासस्थानको लागि सामग्री
4मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: #प्रस २५:१-९ 5आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओस्: सुन, चाँदी र काँसा, 6नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्ला, 7रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ, 8प्रकाशको निम्ति तेल, र अभिषेक गर्ने तेलको निम्ति र सुगन्धित धूपको निम्ति मसला, 9एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू।
10“तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्: #प्रस ३९:३२-४३ 11पवित्र वासस्थान र त्यसको पाल, पालका छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, 12सन्दूक र त्यसका डन्डाहरू, कृपा-आसन र छेक्ने पर्दा, 13टेबिल र त्यसका डन्डाहरू र त्यसका सबै पात्रहरू र उपस्थितिको रोटी, 14बत्तीको निम्ति सामदान र त्यसका दियाहरू, र बत्तीको निम्ति तेल, 15धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा, 16होमबलिको वेदी र त्यसका काँसाको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्यसका खुट्टासमेत, 17चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा, 18पवित्र वासस्थान र चोकका कीलाहरू र तिनका डोरीहरू, 19पवित्रस्थानमा सेवा गर्नका निम्ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”
20तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए। 21जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। 22राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए। 23जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्याए। 24चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। 25आफ्ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्त्रीहरूले ती ल्याए। 26राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काते। 27नायकहरूले एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू ल्याए। 28बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए। 29परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्ति मनमा इच्छुक भएका इस्राएलीहरूका हरेक स्त्री र पुरुषले राजीखुशीका भेटी ल्याए।
30तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ। #प्रस ३१:१-११ 31उहाँले तिनलाई परमेश्वरका आत्माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ। 32तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने, 33र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो। 34तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ। 35तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 35: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012