अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे। अनि ती स्त्री गर्भवती भइन् र एक जना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्। जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, र त्यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्। अनि बालककी दिदीचाहिँ त्यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही। यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्न लागे। तिनले झाड़ीको बीचमा त्यो टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्। तिनले त्यो खोल्दा बालकलाई देखिन्। त्यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्यसलाई हेरिन् र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।” तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?” तब फारोकी छोरीले त्यसलाई भनिन्, “हुन्छ, जा।” अनि त्यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्याई। तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यसैले ती स्त्रीले बालकलाई लगिन्, र त्यसलाई दूध खुवाउने गरिन्। बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ ल्याइन्, र त्यो तिनको छोरो भयो। तिनले त्यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।”
प्रस्थान 2 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 2:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू