YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 14:19-31

प्रस्‍थान 14:19-31 NNRV

तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो। त्‍यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्‍यारो पार्‍यो र अर्कोतिर उज्‍यालो पार्‍यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्‌। तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्‍ति पर्खाल भयो। मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे। अनि रातको पछिल्‍लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्‍बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्‍ल गराइदिनुभयो। उहाँले उनीहरूका रथका पाङ्‌ग्राहरू फुस्‍काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्‍न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्‌दैहुनुहुन्‍छ।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्‍यो पानी फेरि बढ़ेर आओस्‌।” मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र बिहान उज्‍यालो हुँदा समुद्र फेरि फर्केर आफ्‍नो ठाउँमा आयो। मिश्रीहरू त्‍यसको विपरीत दिशातिर भाग्‍न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्‍याँकिदिनुभयो। पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात्‌ इस्राएलका पछिपछि आएका फारोका जम्‍मै सेनालाई छोप्‍यो; र उनीहरूमध्‍ये एउटै पनि बाँचेन। तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो। त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे। परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्‍यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्‍वास गरे।