YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 12:15-36

प्रस्‍थान 12:15-36 NNRV

सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्‍नो घरबाट खमिर निकाल्‍नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्‍म खमिर हालेको रोटी खाला त्‍यो मानिस इस्राएलबाट बहिष्‍कृत हुनेछ। पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्‍ति जति गर्नुपर्छ त्‍यति मात्र गर्नू। “तिमीहरूले अखमिरी रोटीको चाड़ मान्‍नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्‍याएको हुँ। यसकारण त्‍यो दिन तिमीहरूले पुस्‍तौँसम्‍म एउटा रहिरहने विधि स्‍वरूप मान्‍नू। पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्‍काईसौँ दिनको बेलुकासम्‍म खमिर नहालेको रोटी खानू। सात दिनसम्‍म तिमीहरूका घरमा केही खमिर नहोस्‌। कसैले खमिर भएको केही खायो भने त्‍यो चाहे प्रवासी होस्, चाहे स्‍वदेशी होस्, त्‍यो इस्राएलको समुदायबाट बहिष्‍कृत हुनेछ। तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।” तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्‍नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्‍तार-चाड़का बलिको निम्‍ति मार। हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू। जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न। “तिमीहरूले यी कुरा सदाको निम्‍ति एक रहिरहने विधि स्‍वरूप आफू र आफ्‍ना भावी सन्‍तानका लागि मान्‍नू। जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्‍नेछौ, तब तिमीहरूले यो चाड़ मान्‍नू। जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्‍छन्, तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्‍तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्‌नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे। मध्‍यरातमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर झ्‍यालखानमा हुने कैदीको जेठो छोरासम्‍म, सबै गाईबस्‍तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्‍मेकाहरू परमप्रभुले मार्नुभयो। फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन। फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्‍लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर। तिमीहरूले भनेबमोजिम आ-आफ्‍ना भेड़ाबाख्रा र गाईबस्‍तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।” मिश्रीहरूले इस्राएलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौं।” यसैले इस्राएलीहरूले आ-आफ्‍नो मुछेको पीठो खमिर हाल्‍न अघि नै उठाए, र तिनीहरूले आ-आफ्‍नो मुछ्‌ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले। मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे। परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूप्रति कृपालु बनाइदिनुभएको थियो, र मिश्रीहरूले तिनीहरूलाई मागेअनुसार सबै दिए। यसरी तिनीहरूले मिश्रीहरूलाई लुटे।