YouVersion लोगो
खोज आइकन

एस्‍तर 2:5-17

एस्‍तर 2:5-17 NNRV

राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्‍यामीनको कुलका थिए, जुन कीशचाहिँ बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्‍ये एक थिए। मोर्दकैले आफ्‍ना काकाकी छोरी हदस्‍सा, अर्थात्‌ एस्‍तरलाई धर्मपुत्री बनाएका थिए। एस्‍तरका माता-पिता थिएनन्‌। तिनी राम्री र सुन्‍दरी थिइन्‌। तिनका माता-पिताको मृत्‍युपछि मोर्दकैले तिनलाई आफ्‍नै छोरीजस्‍तै गरी पालेका थिए। जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्‍मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्‍याइए, तब एस्‍तर पनि स्‍त्रीहरूका जिम्‍मावाल हेगेको जिम्‍मामा दिन राजमहलमा लगिइन्‌। तिनलाई देखेर त्‍यो नपुंसक खुशी भयो, र एस्‍तरले त्‍यसबाट विशेष निगाह पाइन्‌। त्‍यसले तिनलाई तुरुन्‍तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्‍यसले खटाइदियो। स्‍त्रीहरू बस्‍ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो। एस्‍तरले आफ्‍नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्‍यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए। एस्‍तरलाई के कसो हुँदैछ सो जान्‍न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे। छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्‍तुहरूले सिँगारिदिएर स्‍त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्‍यो। कुनै युवती घरबाट राजाको महलमा जाँदा त्‍यसले मागेको जेसुकै थोक त्‍यसलाई लान दिइन्‍थ्‍यो। बेलुका त्‍यो महलभित्र जान्‍थी र बिहान उपपत्‍नीहरूको जिम्‍मावाल राजाको नपुंसक शाश्‍गजको अधीनमा रहन महिला-गृहको अर्को भागमा फर्केर जान्‍थी। राजाले आफ्‍नो इच्‍छा प्रकट गरेर त्‍यसको नाउँ काढ़ीकन नबोलाउञ्‍जेल त्‍यो फेरि राजाकहाँ जान पाउँदिनथी। जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्‍तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्‍त्रीहरूको जिम्‍मावाल राजाको नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही लगिनन्‌। तिनलाई देख्‍ने सबैलाई एस्‍तरले मोहित गराइन्‌। अहासूरसका राज्‍यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात्‌ तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्‌। राजालाई अरू सबै स्‍त्रीहरूभन्‍दा एस्‍तरलाई नै मन पर्‍यो। अनि राजाले अरू कन्‍ये-केटीहरूभन्‍दा तिनलाई निगाह र स्‍वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्‍तीको सट्टामा तिनलाई आफ्‍नी रानी तुल्‍याए।