अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्।
तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।
यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ। चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।