उपदेशक 7
7
बुद्धिको श्रेष्ठता
1असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो। #हितो २२:१ 2भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्नुपर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। 3हँस्सीभन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ। 4बुद्धिमान्को मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ। 5बुद्धिमान् मानिसको हप्काइलाई ध्यान दिनु मूर्खहरूको सङ्गीत सुन्नुभन्दा अझ असल हो। 6भाँड़ामुनि पड्कने काँढ़ाको आगोजस्तै मूर्खहरूको हाँसो हुन्छ। यो पनि व्यर्थै हो।
7करकापले बुद्धिमान् मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्ट पार्छ।
8कुनै कामको सुरुभन्दा त्यसको अन्त अझ असल हुन्छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्दा असल हुन्छ। 9मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्छ। #याक १:१९
10“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन।
11बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्यालो देख्नेलाई यसले फाइदा गर्दछ। 12जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान् मानिसको प्राण जोगाइराख्छ।
13परमेश्वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्छ र? 14समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लाउन सक्दैन।
15धर्मी मानिस आफ्नो धार्मिकतामा नष्ट भएको र दुष्ट मानिसचाहिँ आफ्नो दुष्टतामा धेरै वर्षसम्म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु। 16धेरै धर्मात्मा नहोऊ, र धेरै बुद्धिमान् पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने? 17ज्यादै दुष्ट र ज्यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने। 18एउटालाई समातिराख्नु र अर्कोलाई नछोड्नु दुवै असल हुन्। जसले परमेश्वरको भय राख्छ त्यो मानिस सबैदेखि अलग्गै बस्छ।
19बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्याउँछ।
20संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन।
21मानिसले भनेका सबै कुराहरूमाथि ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्नेछौ। 22किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्यो तिमीलाई मनमनै थाहा होला।
23यी सबै कुरा मैले बुद्धिद्वारा जाँच गरें, र भनें, “बुद्धिमान् हुनलाई मैले निश्चय गरेको छु।” तर यो मबाट टाढ़ै रह्यो। 24बुद्धि जे नै भए तापनि यो महान् र प्रगाढ़ छ। कसले त्यसको आविष्कार गर्न सक्छ र? 25यसैकारण मैले बुद्धि र घटनापछिका कारणहरू खोजतलाश गर्न मेरो मन लगाएँ, र दुष्टताको मूर्खता र मूर्खको पागलपना बुझ्न इच्छा गरें।
26त्यही स्त्री जो एउटा पासो छे, त्यसलाई मृत्युभन्दा तीतो मैले भेट्टाएँ। त्यसको हृदय धराप र त्यसका हातहरूचाहिँ साङ्लाका बन्धन हुन्। जुन मानिसले परमेश्वरलाई खुशी पार्छ, त्यो त्यसबाट बाँच्नेछ, तर पापीलाई त्यसले पासोमा पार्छे।
27उपदेशकले भन्छन्, “मैले जे पत्ता लगाएको छु, सो सुन। एउटा कुरामाथि अर्को थप्दै प्रत्येक घटनापछिका कारण पत्ता लाउन खोजिरहँदा— 28तर नभेट्टाउँदा— मैले एक हजारमा एउटा सोझो मानिस भेट्टाएँ, तर एक हजारमा एउटै सोझी स्त्री भेट्टाइनँ। 29यो मात्र मैले भेट्टाएको छु: परमेश्वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्पनाको खोजीमा लागेको छ।
अहिले सेलेक्ट गरिएको:
उपदेशक 7: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012