YouVersion लोगो
खोज आइकन

व्यवस्था 28:1-13

व्यवस्था 28:1-13 NNRV

आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ। परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌: तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ। तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि। तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ। तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌। परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ। तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌। तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ। परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।