YouVersion लोगो
खोज आइकन

व्यवस्था 26

26
अगौटे फल र दशांश चढाउने नियम
1परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्‍यसलाई अधिकार गरी त्‍यसमा बसोबास गरेपछि 2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्‍जने सबै किसिमका उब्‍जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुहुने ठाउँमा लैजाओ, #प्रस २३:१९ 3र त्‍यस बेला तत्‍कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्‍छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्‍वरको अगि म स्‍वीकार गर्छु।” 4तब पूजाहारीले तिमीहरूका हातबाट त्‍यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको अगि तिनले राखिदिनेछन्‌। 5तब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने यसो भन्‍नू: “मेरा पुर्खा फिरन्‍ते अरामी थिए। उनी आफ्‍नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्‍यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्‍य जाति उत्‍पन्‍न भयो। 6तर मिश्रीहरूले निष्‍ठुर व्‍यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्‍वमा राखे। 7तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकारा गर्‍यौं, र उहाँले हाम्रो सोर सुन्‍नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्‍याचारलाई देख्‍नुभयो। 8यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो। 9उहाँले हामीलाई यस ठाउँमा ल्‍याएर यो दूध र मह बग्ने देश दिनुभयो। 10अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू। 11तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्‍ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्‍ने परदेशीहरूले पनि आनन्‍द मनाऊन्‌।
12दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्‍ना सबै उब्‍जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्‍यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्‍यो खाऊन्‌ र तृप्‍त होऊन्‌। #व्‍य १४:२८-२९ 13त्‍यसपछि परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसो भन्‍नू: “मैले आफ्‍नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्‍लङ्घन गरेको छैनँ, न त तीमध्‍ये कुनै बिर्सेको छु। 14शोक गर्ने बेलामा त्‍यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्‍यसबाट केही निकालेको छु, न त त्‍यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्‍वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु। 15आफ्‍नो पवित्र वासस्‍थान स्‍वर्गबाट हेरेर आफ्‍नो प्रजा इस्राएललाई आशिष्‌ दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष्‌ दिनुहोस्‌।”
परमप्रभुको आज्ञापालन गर्नू
16यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्‍छ। तिमीहरूले ती आफ्‍नो सारा हृदय र सारा प्राणले ध्‍यानसित पालन गर। 17“परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामी उहाँका मार्गमा हिँड्‌नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्‍नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्‍चय गरेका छौ। 18आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्‍नै प्रजा र उहाँको अमूल्‍य सम्‍पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ। #प्रस १९:५; व्‍य ४:२०; ७:६; १४:२; तीत २:१४; १ पत्र २:९ 19तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्‍दा बढ़ी प्रशंसा, सम्‍मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 26: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्