व्यवस्था 25
25
विभिन्न विधानहरू
1जब मानिसहरूका बीचमा झगड़ा हुन्छ, तिनीहरूले त्यो अड्डामा लैजाऊन् र न्यायकर्ताहरूले फैसला गरून्— निर्दोषलाई छोड़िदेऊन् र अपराधीलाई दोषी ठहराऊन्। 2दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्यायकर्ताले त्यसलाई लम्पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्, 3तर चालीस कोर्राभन्दा बढ़ी हान्न नलगाऊन्। त्यसभन्दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्टिमा तिमीहरूको भाइको अपमान हुनेछ। #२ कोर ११:२४
4दाइँ गर्दा गोरुलाई महला नलगाओ। #१ कोर ९:९; १ तिमो ५:१८
5सँगै बसेका दाजुभाइमध्येको कोही छोरा नभई मर्यो भने, त्यसकी पत्नीले बाहिरको कुलमा विवाह नगरोस्। मर्नेकै दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्य पूरा गरोस्। #मत्ती २२:२४; मर्क १२:१९; लूक २०:२८ 6त्यसले जन्माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्यसको नाउँ इस्राएलमा नमेटिओस्।
7तर देवरले आफ्नी भाउजूलाई राख्न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्नो दाजुको नाउँ इस्राएलमा कायम राख्न मान्दैन। त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य पालन गर्दैन।” #रूथ ४:७-८ 8तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर सम्झाऊन्। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्यो आफ्नो कुरामा अड़िएर बस्यो भने, 9भाउजूले धर्म-गुरुहरूकै सामु त्यसकहाँ गएर त्यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्यसको मुखमा थुकिदेओस्, र यसो भनोस्, “जसले आफ्नो दाजुभाइको परिवार वृद्धि गर्न मान्दैन, त्यसलाई यसै गरिनेछ।” 10अनि इस्राएलमा त्यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ।
11आपसमा लड्ने दुई पुरुषमध्ये एक जनाकी पत्नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्त अङ्ग अँठ्याई भने, 12तिमीहरूले त्यसको हात काटिदिनू, त्यसलाई टिठ्याउँदै नटिठ्याउनू।
13तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू। #लेवी १९:३५-३६ 14तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्नू। 15तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्। 16किनकि यस्ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
17मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्यवहार नभुल। #प्रस १७:८-१४; १ शमू १५:२-९ 18तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्वरको डर मानेनन्। 19परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्यै नभुल्नू।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 25: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012