YouVersion लोगो
खोज आइकन

व्यवस्था 24

24
विविध विधानहरू
1आफ्‍नो विवाह गरेकी स्‍त्रीमा केही खोट पाएर त्‍यससँग असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर कसैले आफ्‍नो घरबाट निकालिदियो भने, #मत्ती ५:३१; १९:७; मर्क १०:४ 2र यदि घर छोड़ेपछि त्‍यो अर्को मानिसकी पत्‍नी भई 3र दोस्रो पति पनि असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्‍यो भने, 4त्‍यो अशुद्ध भएकी हुनाले त्‍यसलाई त्‍याग्‍ने पहिलो पतिले फेरि त्‍यसलाई आफ्‍नो पत्‍नी तुल्‍याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्‍याउनू।
5नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्‍य कुनै कामको अभिभारा त्‍यसलाई नदिनू। एक वर्षसम्‍म त्‍यो घरमा ढुक्‍कै बसोस्‌ र आफूले ल्‍याएकी पत्‍नीलाई आनन्‍द देओस्‌।
6ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्‍लो ढुङ्गा पनि नलिनू, किनभने त्‍यो मानिसको जीविका नै बन्‍धकमा लिएको जस्‍तो हुन्‍छ।
7कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ। #प्रस २१:१६
8कुष्‍ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ। #लेवी १३:१—१४:५४ 9तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई गर्नुभएको कुरो याद राख! #गन्ती १२:१०
10आफ्‍नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्‍यसको धरौटी लिन तिमीहरू घरभित्र नपस। #प्रस २२:२६-२७ 11तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्‍याइदेओस्‌। 12त्‍यो मानिस गरीब छ भने त्‍यसको बन्‍धक राखेर तिमीहरू नसुत। 13सूर्यास्‍तसम्‍ममा तिमीहरूले त्‍यो बन्‍धक फर्काइदिनू, र त्‍यो आफ्‍नो ओढ्‌नेमा सुतेर त्‍यसले तिमीहरूलाई आशीर्वाद देओस्‌। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको नजरमा यो तिमीहरूका निम्‍ति धार्मिकता ठहरिनेछ।
14तिमीहरूको इस्राएली भाइ होस्‌ वा तिमीहरूका सहरहरूमध्‍ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्‍यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ। #लेवी १९:१३ 15सूर्यास्‍तअघि नै प्रतिदिन त्‍यसको ज्‍याला दिइहाल्‍नू, किनकि त्‍यो एक गरीब हो र त्‍यो आफ्‍नो ज्‍यालामा नै भर परेको हुन्‍छ। नत्रता त्‍यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्‍यो भने, तिमीहरूलाई पाप लाग्‍नेछ।
16बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधको लागि मरोस्‌। #२ राज १४:६; २ इति २५:४; इज १८:२०
17परदेशी र टुहुरा-टुहुरीको न्‍याय दमन नगर। कुनै विधवाको ओढ्‌ने धितोमा नलेओ। #प्रस २३:९; लेवी १९:३३-३४; व्‍य २७:१९ 18तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्‍झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
19खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌। #लेवी १९:९-१०; २३:२२ 20भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्‍यसका फल झारेपछि फेरि दोस्रो पल्‍ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका चाहिँ छोड़िदिनू। 21आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू। 22मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्‍झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 24: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्