आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेसरले सपनाहरू देखे। उनको मनमा छटपटी भयो र उनी सुत्न सकेनन्। यसकारण राजाले जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, बिजुवाहरू र ज्योतिषीहरूलाई उनले देखेको सपना बताइदेऊन् भनी बोलाउने हुकुम गरे। जब तिनीहरू आए र राजाको सामु खड़ा भए, उनले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु। त्यसले मलाई विचलित बनाएको छ, र यसको अर्थ बुझ्न चाहन्छु।”
तब ती ज्योतिषीहरूले आरमेइक भाषामा राजालाई उत्तर दिए, “महाराजा, अमर रहून्! हजूरका दासहरूलाई सपना बताइदिनुहोस्, र हामी त्यसको अर्थ बताउनेछौं।”
राजाले ती ज्योतिषीहरूलाई जवाफ दिए, “मैले यही निर्णय गरेको छु: यदि तिमीहरूले मैले देखेको सपना र त्यसको अर्थ बताएनौ भने, तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ र तिमीहरूका घरहरू उजाड़ पारिनेछन्। तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बतायौ भने, मबाट तिमीहरूले उपहारहरू र इनामहरू तथा ठूलो सम्मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्यसको अर्थ बताओ।”
फेरि एक चोटि तिनीहरूले जवाफ दिए, ‘महाराजाले आफ्ना दासहरूलाई आफ्नो सपना बताइदिनुहोस् र हामी त्यसको अर्थ खोलिदिनेछौं।”
तब राजाले जवाफ दिए, “म निश्चित छु कि तिमीहरूले मबाट समय लिएर टार्ने कोशिश गर्दैछौ, किनभने मैले के निर्णय गरिसकेको छु भनेर तिमीहरूलाई थाहा भएको छ। यदि तिमीहरूले मलाई सपना बताएनौ भने तिमीहरूका लागि एउटै मात्र सजाय छ। यो परिस्थिति बद्लिएला भन्ने आशाले मलाई भ्रम र दुष्ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ। यसकारण मलाई सपना बताओ, अनि मलाई थाहा हुनेछ कि तिमीहरूले यसको अर्थ मलाई बताउन सक्नेछौ।
ज्योतिषीहरूले राजालाई उत्तर दिए, “महाराजाले भन्नुभएको कुरा गर्न सक्ने पृथ्वीमा कोही छैन। जति महान् र शक्तिशाली भए पनि कुनै राजाले कुनै जादूगर वा मन्त्रतन्त्र गर्ने वा ज्योतिषीहरूसँग यस्तो कुरा कहिल्यै माग गरेका छैनन्। महाराजाले गर्नुभएको यो प्रश्न अति नै गाह्रो छ। महाराजालाई यो कुरा देवताहरूबाहेक अरू कसैले पनि प्रकट गर्न सक्दैन। ती देवताहरू मानिसहरूका बीचमा बस्दैनन्।”
यसले गर्दा राजा रीसले यति चूर भए कि उनले बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मृत्युदण्ड दिने हुकुम गरे। यसरी ज्ञानी पुरुषहरूलाई मृत्युदण्ड दिने घोषणा निस्क्यो र दानिएल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूलाई झिकाउन मानिसहरू पठाइए।
जब राजाका अङ्गरक्षकका कप्तान अर्योक बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न निस्के, दानिएलले बुद्धिमानी र बड़ो निपुणतासाथ उनलाई प्रश्न गरे, “राजाले किन यस्तो कठोर आदेश निकाल्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। यो सुनेर दानिएल राजाकहाँ गए र सपनाको अर्थ खोल्नलाई समय पाऊँ भनी बिन्ती गरे।
तब दानिएल आफ्नो घर फर्के र आफ्ना साथीहरू हनन्याह, मीशाएल र अजर्याहलाई सो कुरा बताइदिए। बेबिलोनका अरू ज्ञानी पुरुषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिऊन् भन्ने खातिर यो रहस्य खोल्न स्वर्गका परमेश्वरको कृपा मिलोस् भनी तिनले आफ्ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे। राती दर्शनमा दानिएललाई यसको रहस्य प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्वरलाई प्रशंसा गरे, र भने,
परमेश्वरको नाउँ सदासर्वदै धन्यको होऊन्। बुद्धि र पराक्रम उहाँकै हुन्।
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्थ गर्नुहुन्छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्छ।
उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ, र ज्योतिले उहाँमा वास गर्छ।
हे मेरा पिता-पुर्खाका परमेश्वर, तपाईंलाई म धन्यवाद दिँदछु र तपाईंको प्रशंसा गर्दछु, तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले मागेको कुरा तपाईंले मलाई प्रकट गर्नुभयो, तपाईंले हामीलाई राजाको सपना प्रकट गर्नुभयो।”