हे सामरिया डाँड़ामा बस्ने बाशानका गाई हो, तिमी स्त्रीहरू, जो गरीबहरूलाई थिचोमिचो गर्दछौ, र दरिद्रहरूलाई पेल्दछौ, र आफ्ना पतिहरूलाई भन्दछौ, “हामीहरूलाई केही पिउनलाई ल्याइदिनुहोस्।” तिमीहरू यो वचन सुन। परमप्रभु परमेश्वरले आफ्नो पवित्रताद्वारा यो शपथ खानुभएको छ, “हेर, समय निश्चय नै आउनेछ, जब तिमीहरूलाई अंकुसेले र तिमीहरूका बाँकी रहेकाहरूलाई बल्छीले समातेर लगिनेछन्। तिमीहरू हरेक जना पर्खालका धाँदाहरूका बीचबाट भएर सोझै जानेछौ, र तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।
“बेथेलमा गएर पाप गर। गिलगालमा गएर अझ धेरै पाप गर। बिहानैपिच्छे तिमीहरूका भेटी ल्याओ र प्रत्येक तेस्रो वर्षमा आ-आफ्नो दशांश ल्याओ। खमिर हालेको रोटी धन्यवाद बलि चढ़ाओ, र स्वेच्छा बलिका लागि धाक लगाउँदै हिँड़, तिनको कारणले घमण्ड गर, किनकि तिमी इस्राएली हौ, तिमीहरूलाई त्यसै गर्न मन पर्छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
“कटनी गर्ने समय अझै अरू तीन महिना बाँकी रहँदै मैले तिमीहरूबाट वर्षा रोकें। मैले एउटा नगरमा वर्षाको पानी पठाइदिएँ, तर अर्कोमा पठाइनँ। एउटा खेतमा पानी पर्यो, अर्कोमा केही पनि परेन र त्यो सुक्यो। मानिसहरू नगर-नगर हुँदो पानीको लागि धरमरिँदै हिँड़े, तर पिउनलाई यथेष्ट पाएनन्, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
“मैले धेरै पल्ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
“मैले तिमीहरूका बीचमा मिश्रदेशलाई गरेझैँ रूढ़ीहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तिमीहरूले पक्रेर ल्याएका घोड़ाहरूसमेत तरवारले मारें, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूका नाकसम्मै भरिदिएँ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
“मैले तिमीहरूमध्ये कति जनालाई सदोम र गमोरालाई जस्तै गरी ध्वंस पारिदिएँ। तिमीहरू जलिरहेको आगोबाट झिकेको अगुल्टोजस्तै थियौ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
“यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्वरसित भेट गर्न तिमीहरू तयार होओ।”
जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्यारो पार्छ र पृथ्वीका अल्गा-अल्गा ठाउँहरूमा हिँड्छ— सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँको नाउँ नै हो।