YouVersion लोगो
खोज आइकन

प्रेरित 7:17-53

प्रेरित 7:17-53 NNRV

“तर जब परमेश्‍वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्‌न लागे, र तिनीहरूको संख्‍यामा वृद्धि भयो। तब मिश्रदेशमा योसेफलाई नचिन्‍ने अर्का राजा खड़ा भए। उनले हाम्रा जातिसँग धूर्तताको व्‍यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्‍याएर राख्‍न कर लाउँथे, र यसरी भर्खर जन्‍मेका सबै शिशुहरू मर्थे। “यसै बेला मोशाको जन्‍म भयो। तिनी परमेश्‍वरको दृष्‍टिमा सुन्‍दर थिए। तिनी तीन महिनासम्‍म आफ्‍ना पिताको घरमा पालिए। तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्‍नै छोरा तुल्‍याएर पालिन्‌। मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइ‍यो, र मोशा आफ्‍ना वचन र काममा शक्तिशाली भए। “जब तिनी चालीस वर्षका भए, तब आफ्‍ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्‍छा तिनको हृदयमा उठ्यो। आफ्‍ना जातभाइमध्‍ये एक जनामाथि अन्‍याय भइरहेको देखेर, तिनले त्‍यसलाई रक्षा गरे, र त्‍यस अन्‍याय गर्ने मिश्रीलाई मारी आफ्‍ना भाइमाथि भएको अत्‍याचारको बदला लिए। परमेश्‍वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्‍छ भन्‍ने मेरा भाइबन्‍धुले बुझ्‍लान्‌ भन्‍ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्‌। भोलिपल्‍ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्‍याय गर्छौ?’ “तर आफ्‍नो छिमेकीमाथि अन्‍याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्‍यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्‍यो? हिजो त्‍यस मिश्रीलाई मारेजस्‍तो तिमी मलाई पनि मार्न चाहन्‍छौ?’ यस्‍तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्‍यहाँ तिनका दुई छोराहरू जन्‍मे। “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्‍थानमा जलिरहेको पोथ्राको ज्‍वालामा एउटा स्‍वर्गदूत तिनीकहाँ देखा परे। जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्‍क परे, र त्‍यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्‍तो वाणी भयो, ‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर।’ मोशा काम्‍न लागे, र तिनले त्‍यतातिर हेर्नेसम्‍म आँट गरेनन्‌। “तब परमप्रभुले तिनलाई भन्‍नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्‍थानमा तिमी खड़ा छौ, त्‍यो पवित्र स्‍थान हो। मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’ “यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्‍यायकर्ता तुल्‍यायो’ भनेर इन्‍कार गरेका थिए, तिनलाई परमेश्‍वरले पोथ्रामा देखा पर्ने स्‍वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्‍याएर पठाउनुभयो। यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्‍थानमा उदेकका काम र चिन्‍हहरू गरिकन तिनीहरूलाई बाहिर ल्‍याए। “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूमध्‍येबाट तिमीहरूका निम्‍ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ यी तिनै मोशा हुन्, जो उजाड-स्‍थानमा भएको समुदायमा स्‍वर्गदूतसँग थिए, जुन स्‍वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्‍ति जीवित वाणीहरू पाएका थिए। “हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्‍कार गरे। तिनीहरूले तिनलाई पन्‍छाएर मिश्रदेशमै फर्केर जाने मन गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्‍ने कोही देवताहरू हाम्रा निम्‍ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउने यी मोशालाई के कसो भयो हामी जान्‍दैनौं।’ ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्‍यसमा बलि पनि चढ़ाए, र आफ्‍ना हातको काममा खुशी मनाए। तर परमेश्‍वरले तिनीहरूलाई तिरस्‍कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्‍डलको उपासना गर्न छोडिदिनुभयो, जस्‍तो अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्‍म उजाड-स्‍थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ? तिमीहरूले मोलोखको तम्‍बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्‍नलाई बनाएका मूर्तिहरू उठाइलग्‍यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’ “उजाड-स्‍थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्‍डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्‍वरको आदेशअनुसार यो बनिएको थियो। हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्‍यजातिहरूको देश अधिकारमा ल्‍याउँदा यहोशूको साथमा त्‍यो तम्‍बू ल्‍याए। दाऊदको पालोसम्‍मै त्‍यो त्‍यहीँ रह्यो। तिनले परमेश्‍वरको निगाह पाए, र याकूबका परमेश्‍वरको निम्‍ति एउटा वासस्‍थान बनाउने अनुमति मागे। तर उहाँको निम्‍ति भवनचाहिँ सोलोमनले बनाए। “तर हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न, जस्‍तो अगमवक्ताले भनेका छन्, ‘मेरो सिंहासन स्‍वर्ग हो, र पृथ्‍वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्‍ति कस्‍तो भवन बनाउने हो? परमप्रभु भन्‍नुहुन्‍छ, मेरो विश्रामको ठाउँ कुन हो? के यी सबै थोक मेरै हातले बनाएका होइनन्‌ र?’ “हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्‍माको विरोध गर्नुहुन्‍छ। तपाईंहरूका पुर्खाले जस्‍तो गरे तपाईंहरू पनि त्‍यस्‍तै गर्नुहुन्‍छ। अगमवक्ताहरूमध्‍ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्‌? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्‍या गरे। उहाँलाई तपाईंहरूले विश्‍वासघात गर्नुभयो, र उहाँको हत्‍या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्‍वासघातक र ज्‍यानमारा हुनुभएको छ। स्‍वर्गदूतहरूले सुम्‍पेको व्‍यवस्‍था तपाईंहरूले पाउनुभयो, तर त्‍यसको पालन गर्नुभएन।”

Video for प्रेरित 7:17-53