पत्रुस र यूहन्ना मानिसहरूसँग बोल्दै नै थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए। उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए। तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो।
भोलिपल्ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा भेला भएका थिए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका परिवारका जम्मै त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”
तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो, आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्नुभएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ।
‘यो त्यही ढुङ्गो हो, जो तपाईं,
निर्माताहरूले इन्कार गर्नुभएको थियो,
सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’
अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए। तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे, “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्ची नै यिनीहरूबाट एउटा अचम्मको काम भएको छ भन्ने यरूशलेमका बासिन्दा जम्मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्कार गर्न सक्दैनौं। तर यो कुरो जनतामा नफैलिओस् भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।”
अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।
तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं।”
तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो।