पत्रुस र यूहन्ना मानिसहरूसँग बोल्दै नै थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए। उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए। तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो। भोलिपल्ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा भेला भएका थिए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका परिवारका जम्मै त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?” तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो, आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्नुभएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ। ‘यो त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।” जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए।
प्रेरित 4 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 4:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू