त्यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्चियो। किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्यो। तब यिनीहरूलाई र अरू यस्तै पेशा भएकाहरूलाई त्यसले जम्मा गरेर भन्यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्लाएर बहकाई लगेको छ। यसकारण हाम्रो व्यापारको प्रतिष्ठा नाश हुने मात्र होइन तर महान् देवी आर्तेमिसको मन्दिरसमेत बेकम्मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्नो गौरवबाट पतित हुनेछिन्।” यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान् हुन्।” भनी चिच्च्याउन लागे। सारा सहरमा होहल्ला मच्चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्स्याउँदै लगे। पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्। एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस् भनी बिन्ती गरी पठाए। तब तिनीहरू भिन्नाभिन्नै कुरा गर्दै चिच्च्याउन लागे। किनकि त्यो भीड़मा होहल्ला मच्चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्मा भएका हुन् सो पनि जानेका थिएनन्। भीड़का कति मानिसहरूले अलेक्जेन्डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्जेन्डरले हातले इशारा गरेर मानिसहरूका सामुन्ने बचाउको निम्ति केही भन्ने इच्छा व्यक्त गरे। तर तिनीहरूले त्यो त यहूदी रहेछ भन्ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्टा जति “एफिसीहरूकी आर्तेमिस महान् हुन्” भन्दै कराए। नगरका हाकिमले मानिसहरूलाई शान्त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान् आर्तेमिसको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र? तपाईंहरू जान्नुहुन्छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन। किनभने तपाईंहरूले ल्याउनुभएका यी मानिसहरूले मन्दिर लुटेका छैनन् र हाम्री देवीको अपमान पनि गरेका छैनन्। यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्। तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्छ भनेता त्यसको फैसला नियमित सभामा हुनेछ, किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्पष्टीकरण हामी दिन सक्नेछैनौं।” यति भनेर तिनले सभालाई विसर्जन गरे।
प्रेरित 19 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 19:23-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू