YouVersion लोगो
खोज आइकन

२ तिमोथी 1:2-18

२ तिमोथी 1:2-18 NNRV

मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति। जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ। मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ। त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख। किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ। यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्‍वरको शक्तिमा सुसमाचारको निम्‍ति दुःख-भोगमा तिमी सहभागी होऊ। उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो, जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो। यसै सुसमाचारको निम्‍ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ। यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ। ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर। तिमीलाई जिम्‍मा लाएको सत्‍यलाई हामीमा वास गर्नुहुने पवित्र आत्‍माद्वारा सुरक्षित राख। एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्‍ये फुगेलस र हर्मोगेनस हुन्‌। प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्‍सर हौसला दिन्‍थे, र मेरो साङ्‌लाको शर्म मान्‍दैनथे, तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए। प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्‌। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।