YouVersion लोगो
खोज आइकन

२ थेसलोनिकी 3

3
प्रार्थनाको लागि निवेदन
1अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो, 2र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्‍वास हुँदैन। 3तर प्रभु त विश्‍वासयोग्‍य हुनुहुन्‍छ। उहाँले तिमीहरूलाई स्‍थिर गराउनुहुनेछ र दुष्‍टबाट सुरक्षित राख्‍नुहुनेछ। 4हामी जुन कुराको आज्ञा दिन्‍छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्‍ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं। 5प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतिर डोर्‍याऊन्‌।
अल्‍छेलाई चेताउनी
6अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस। 7किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्‍दछौ। हामी तिमीहरूसँग छँदा अल्‍छे भई बसेनौं। 8हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस्‌ भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्‍यौं। 9सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं। 10तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”
11किनकि हामी सुन्‍दछौं, कि तिमीहरूमध्‍ये कतिले अल्‍छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन्‌ तर अरूको काममा व्‍यर्थै हात हाल्‍छन्‌। 12अब यस्‍ता मानिसहरूलाई प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी आज्ञा र अर्ती दिन्‍छौं, कि तिनीहरूले चूपचाप आफ्‍ना काम गरून्‌ र आफ्‍ना जीविका चलाऊन्‌। 13तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ।
14यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्‍कार गर्छ भने, त्‍यस मानिसलाई चिनिराख र त्‍यससँग केही सम्‍बन्‍ध नराख, र त्‍यो शर्ममा परोस्‌। 15तैपनि त्‍यसलाई शत्रुजस्‍तो नठान, तर भाइलाई जस्‍तो गरी त्‍यसलाई चेताउनी देओ।
आखिरी अभिवादन
16अब शान्‍तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्‍ति देऊन्‌। प्रभु तिमीहरू सबैसँग रहून्‌।
17म पावल, आफ्‍नै हातले यो अभिवादन लेख्‍दैछु। मेरो सबै पत्रको चिनारी यही हो। त्‍यसरी नै म लेख्‍दैछु।
18हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्‌।

अहिले सेलेक्ट गरिएको:

२ थेसलोनिकी 3: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्