२ शमूएल 15
15
अब्शालोमको षड्यन्त्र
1त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोड़ाहरू र आफ्नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए। 2तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्साफ माग्न आउँदा अब्शालोमले त्यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे, 3तब अब्शालोमले त्यसलाई भन्थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्ने राजाको कुनै प्रतिनिधि नै छैन।” 4अनि अब्शालोमले अझै यसो पनि भन्थे, “यदि म यस देशमा न्यायाधीश नियुक्त भएको भए यस्तो मुद्दा ल्याउने हरेक मानिसको ठीक इन्साफ गरिदिने मेरो कर्तव्य हुनेथियो।”
5जब कुनै मानिस तिनलाई साष्टाङ्ग-दण्डवत् गर्नलाई आउँथ्यो, तब अब्शालोमले आफ्नो हात पसारेर त्यसलाई समाती अँगालो हालेर म्वाइँ खान्थे। 6राजाकहाँ इन्साफ माग्ने हरेकसँग यस्तै व्यवहार गरेर अब्शालोमले इस्राएलीहरूको प्यार आफूतिर खिँचे।
7चार वर्षपछि अब्शालोमले राजालाई भने, “परमप्रभुको निम्ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्छु। 8किनभने म अरामको गशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ: ‘यदि परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु’।”
9राजाले जवाफ दिए, “शान्तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए।
10तब अब्शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्ने बित्तिकै तिमीहरूले भन, ‘अब्शालोम हेब्रोनमा राजा हुनुभयो’!” 11दुई सय जना मानिसहरू यरूशलेमबाट अब्शालोमका साथ गएका थिए। तिनीहरूले निम्तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए। 12अब्शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्यन्त्र खूब प्रबल हुँदैगयो, र अब्शालोमतर्फ लागेका मानिसहरूको संख्या पनि बढ्दैगयो।
दाऊद यरूशलेमबाट भागेका
13एक जना सन्देशवाहक आएर दाऊदलाई भन्यो, “इस्राएलका मानिसहरूको मन त अब्शालोमतिर छ।”
14तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्नुपर्छ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन पाउनेछैनौं। हामी तुरुन्तै भाग्नुपर्छ, नत्रता त्यो हामीमाथि आइलाग्नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्यसले हामीमाथि विपत्ति ल्याउनेछ।”
15राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्झनुहुन्छ त्यसो गर्नलाई हामी तयार छौं।”
16तब राजा निस्केर गए, र महलको हेरचाह गर्ने दश जना उपपत्नीहरूबाहेक तिनको घरानाका सबै मानिसहरू पनि तिनकै पछिपछि लागे। 17तिनीहरू केही टाढ़ासम्म गएर अड़िए। 18गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्ने हिँड़ेर गए।
19तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्नो देशबाट निकालिएका पनि हौ। 20तिमी त हिजोअस्ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनू? म कहाँ जानेछु म आफै जान्दिनँ। घर जाऊ, र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्वास तिमीसित रहून्।”
21तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्छ, त्यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।”
22दाऊदले इत्तैलाई भने, “हुन्छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्नो जम्मै दल र तिनीसँग भएका सबै लावालश्करसाथ हिँड़े।
23यसरी तिनीहरू सबै जना निस्केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्न लागे।
24सादोक पनि सबै लेवीहरूका साथमा त्यहाँ थिए। तिनीहरूले परमेश्वरका करारको सन्दूक बोकेर लगिरहेका थिए। त्योचाहिँ तिनीहरूले अड़ाएर राखे र सबै मानिसहरू सहरबाट निस्केर नजाउञ्जेल अबियाथारले बलिदानहरू चढ़ाउन लागे।
25तब राजाले सादोकलाई भने, “परमेश्वरको सन्दूक सहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ, र म सन्दूकलाई र उहाँको वासस्थानलाई फेरि देख्न पाउनेछु। 26यदि उहाँले मसँग प्रसन्न हुनुहुन्न भनी भन्नुभयो भने म यहीँ छु। उहाँले मलाई जे गर्न चाहनुहुन्छ सो मसँग गरून्।”
27राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्य देख्न सक्छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्तिसँग सहरमा फर्केर जाओ। 28म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्जेल पर्खिबस्नेछु।” 29तब सादोक र अबियाथारले परमेश्वरको सन्दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्यहीँ नै बसे।
30जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े। 31षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल अब्शालोमसँग छन् भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।”
32जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्वरलाई साष्टाङ्ग-दण्डवत् गरिन्थ्यो, तब अरकी हूशै आफ्ना लुगा च्यातीकन आफ्नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए। 33दाऊदले तिनलाई भने, “तिमी मसँग आयौ भने मलाई भार मात्र हुनेछ, 34तर यदि तिमी सहरमा फर्किगएर अब्शालोमलाई ‘म हजूरको दास हुनेछु, अहिलेसम्म त म हजूरका पिताको दास थिएँ, तर अब म हजूरको दास हुनेछु’ भनी भन्यौ भने, अहीतोपेलको सल्लाह खतम गर्नमा तिमीले मलाई सहायता गर्न सक्नेछौ। 35तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्। राजाको महलमा जे-जे कुरा तिमी सुन्नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ। 36तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्। तिमी जे सुन्छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।”
37यसैले अब्शालोम यरूशलेममा पस्दापस्दै दाऊदका मित्र हूशै सहरमा आए।
अहिले सेलेक्ट गरिएको:
२ शमूएल 15: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012