दाऊदका छोरा अब्शालोमकी तामार नाउँ भएकी एउटी सुन्दरी बहिनी थिइन्। अनि दाऊदका अर्का छोरा अमनोन तिनीसँग प्रेममा फसे।
अमनोन आफ्नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्याकुल भए कि उनी रोगाउँदैगए। किनभने तिनी कन्ये-केटी भएकी हुनाले तिनीसँग केही गर्न अमनोनलाई असम्भव थियो।
तर दाऊदका दाजु शिमाहका छोरा योनादाब नाउँ भएका अमनोनका एक मित्र थिए, जो अत्यन्तै चतुर थिए। तिनले अमनोनलाई भने, “हे राजकुमार, तिमी यसरी दिनदिनै हताश हुँदैजाँदैछौ, मलाई किन कारण भन्दैनौ?”
तब अमनोनले उनलाई भने, “म मेरा भाइ अब्शालोमकी बहिनी तामारसँग प्रेममा फसेको छु।”
योनादाबले तिनलाई भने, “बिरामी छु भन्ने बहाना गरेर ओछ्यानमा सुतिरह। जब तिम्रा पिता तिमीलाई हेर्न आउँछन् तब तिनलाई भन, ‘कृपा गरी मेरी बहिनी तामार आएर मलाई मेरो खानेकुरा देओस्। त्यसले मेरै सामुन्ने त्यो पकाओस्, र म त्यसले बनाएकी हेर्छु, र त्यसकै हातबाट खानेछु’।”
यसैले अमनोन बिरामी परेको बहाना गरेर ओछ्यानमा सुतिरहे। जब राजा उनलाई हेर्न आए तब उनले भने, “हजूर, मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी बनाइदेओस्, र म त्यसको हातबाट खान पाऊँ।”
दाऊदले महलमा तामारकहाँ यसो भनेर समाचार पठाए, “तिम्रो दाजु अमनोनको कोठामा गएर त्यसको निम्ति खानेकुरा पकाइदेऊ।” तामार तिनका दाजुकहाँ आइन्, र उनलाई सुतिरहेका भेट्टाइन्। तिनले केही पीठो मुछेर उनको सामुन्ने रोटी पकाइदिइन्। तब तिनले तावा लगेर अमनोनको सामुन्ने रोटी हालिदिइन्, तर अमनोनले खान मानेनन्।
तब अमनोनले सबैलाई आफ्नो कोठाबाट जाने हुकुम गरे। जब तिनीहरू सबै गए, तब उनले तामारलाई भने, “खानेकुरा मेरो भित्री कोठामा ल्याऊ, र म त्यहाँ तिम्रो हातबाट खानेछु।” आफूले बनाएका रोटीहरू तामारले अमनोनकहाँ भित्री कोठामा लगिन्। तर जब तिनले अमनोनलाई ती दिइन् तब उनले तिनलाई समातेर भने, “हे मेरी बहिनी, आऊ, मसित सुत।”
तर तिनले जवाफ दिइन्, “होइन मेरो दाज्यै, मेरो बेइज्जत नगर्नुहोस्। यस्तो काम इस्राएलमा गर्नुहुँदैन। यस्तो नीच काम नगर्नुहोस्। मैले मेरो अनुहार कहाँ गएर देखाउनु? अनि तपाईं पनि इस्राएलमा एक दुष्ट, मूर्ख बन्नुहुनेछ। मेरो निम्ति राजासित कुरा गर्नुहोस्, अनि मसित विवाह गर्नलाई उहाँले तपाईंलाई इन्कार गर्नुहुनेछैन।” तर उनले तामारको कुरा ट्याक्कै सुनेनन्, र तिनलाई जबरजस्ती गरेर समाते, र तिनको बेइज्जत गरी तिनीसँग सुते।
त्यसपछि अमनोनले तिनलाई अत्यन्त घृणा गर्न लागे। अमनोनको अघिको प्रेमभन्दा अहिलेको घृणा धेरै थियो। अमनोनले तिनलाई भने, “उठेर गइहाल्।”
तिनले जवाफ दिएर भनिन्, “अँहँ, मलाई यसरी निकाल्नु त साह्रै दुष्ट कुरा हो। तपाईंले मसित गर्नुभएको कामभन्दा यो झन् असहाय छ।”
उनले तिनको कुरा सुन्दैसुनेनन्, र आफ्नो चाकरी गर्ने केटालाई बोलाएर भने, “यस आइमाईलाई निकालिदे। यसलाई बाहिर निकालेर ढोकामा आग्लो लगाइदे।” चाकरी गर्ने त्यस ठिटाले तिनलाई बाहिर निकालिदियो, र ढोकामा आग्लो लगाइदियो। तामारले विवाह नगरेकी राजकुमारीले लाउने लामो बाहुला भएको लुगा लगाएकी थिइन्। तामारले आफ्नो कपालमा खरानी हालिन्, आफूले लगाएको लामो बाहुलाको लुगा च्यातिन्, र कपालमा हात राख्दै रुँदैगइन्।
तिनका दाजु अब्शालोमले तिनलाई सोधे, “के तेरा दाजु अमनोन तँसित थिए? अब चूप लागी बस्। उनी तेरा दाजु हुन्, यस विषयमा साह्रै चिन्ता नगर्।” अनि तामार आफ्ना दाजु अब्शालोमको घरमा एक त्यागिएकी स्त्रीझैँ बसिन्।