YouVersion लोगो
खोज आइकन

२ राजाहरू 5:1-16

२ राजाहरू 5:1-16 NNRV

नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्‍ना मालिकको दृष्‍टिमा एक ठूला मानिस थिए, र अति इज्‍जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्‍याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्‍ठरोगी पनि थिए। अब अरामबाट दलहरू गएर इस्राएलबाट एउटी जवान ठिटीलाई कैद गरेर ल्‍याएका थिए, र त्‍यसले नामानकी पत्‍नीको चाकरी गर्थी। त्‍यसले आफ्‍नी मालिक्‍नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!” नामान आफ्‍ना मालिककहाँ गएर इस्राएलबाट ल्‍याएकी त्‍यस ठिटीले भनेको कुरा बताइदिए। अरामका राजाले जवाफ दिए, “हुन्‍छ, तिमी जाऊ। म इस्राएलका राजालाई एउटा पत्र पठाउनेछु।” यसैले नामान आफ्‍नो साथमा सत्तरी किलोग्राम सुन र तीन सय चालीस किलोग्राम चाँदी र दश जोर लुगा लिएर गए। उनले इस्राएलका राजाकहाँ लगेको पत्र यस्‍तो थियो: “यो पत्रसाथै म तपाईंकहाँ मेरो दास नामानलाई पठाइरहेछु। तपाईंले त्‍यसको कुष्‍ठरोग निको पारिदिनुहोला।” इस्राएलका राजाले त्‍यो चिट्ठी पढ्‌ने बित्तिकै आफ्‍ना लुगा च्‍यातेर भने, “के म परमेश्‍वर हुँ र? मार्न र जिउँदो पार्न सक्‍छु र? यस मानिसले किन त्‍यसको कुष्‍ठरोगबाट निको पार्न कसैलाई मकहाँ पठाउँछ? हेर त, त्‍यसले मसित झगड़ाको निहुँ खोज्‍दैछ!” इस्राएलका राजाले आफ्‍ना लुगा च्‍यातेको कुरा जब परमेश्‍वरका जन एलीशाले सुने, तब तिनले राजालाई यो समाचार पठाए, “तपाईंले किन आफ्‍ना लुगा च्‍यात्‍नुभयो? मानिस यहाँ मकहाँ आओस्, र त्‍यसले इस्राएलमा एक जना अगमवक्ता रहेछन्‌ भनी जान्‍नेछ।” यसैले नामान आफ्‍ना घोड़ाहरू र रथहरूका साथमा गए, र एलीशाका घरको ढोकामा अड़िए। एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।” तर नामान रिसाएर यसो भन्‍दै गइहाले, “मैले सोचेको थिएँ, तिनी बाहिर निस्‍किआएर परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्‍लाएर मेरो कुष्‍ठरोग निको पारिदिनेछन्‌ होला। के दमस्‍कसका अबाना र फारपर नदीहरू इस्राएलको कुनै पानीभन्‍दा असल छैनन्‌ र? के म तिनमा नै धोएर शुद्ध हुन सक्‍दिनँ र?” यसैले उनी फर्केर रीसको झोँकमा गइहाले। तर नामानका नोकरहरूले उनीकहाँ आएर उनलाई भने, “हे पिताज्‍यू, यदि अगमवक्ताले तपाईंलाई केही ठूलो कुरा गर्नुहोस्‌ भनी भन्‍नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईंलाई धोएर शुद्ध हुनुहोस्‌ भन्‍नुभएकोमा तपाईंले झन्‌ किन नगर्ने?” यसैले उनी तल ओर्ले र परमेश्‍वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्‍ट स्‍वयम्‌ डुबुल्‍की मारे, र उनको मासु ज्‍यूँका त्‍यूँ भयो, जवान केटाको जस्‍तै भयो। तब नामान र उनका नोकरहरू परमेश्‍वरका जनकहाँ फर्केर आए। उनी तिनको सामु खड़ा भएर भने, “अब मलाई थाहा भयो, कि इस्राएलमा बाहेक सारा संसारमा कुनै परमेश्‍वर हुनुहुन्‍न। कृपा गरी अब आफ्‍नो दासबाट केही उपहार लिनुहोस्‌।” ती अगमवक्ताले जवाफ दिए, “जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँको नाउँमा शपथ खाएर म भन्‍दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” त्‍यो लिनलाई नामानले तिनलाई कर लगाए, तापनि तिनले इन्‍कार गरे।