YouVersion लोगो
खोज आइकन

२ राजाहरू 13:14-25

२ राजाहरू 13:14-25 NNRV

अब एलीशा एक बिमारद्वारा पीडित थिए जुनबाट तिनी पछि मरे। इस्राएलका राजा येहोआश तिनलाई भेट गर्न गए, र तिनको सामुन्‍ने रोएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोड़चढ़ीहरू!” एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्‌।” अनि तिनले त्‍यसै गरे। तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्‌।” तिनले त्‍यसै गरेपछि एलीशाले आफ्‍ना हात राजाका हातमाथि राखे। तिनले भने, “पूर्वपट्टिको झ्‍याल खोल्‍नुहोस्‌।” राजाले त्‍यो खोले। एलीशाले “हान्‍नुहोस्‌” भने, र तिनले हाने। “परमप्रभुको विजयको काँड़, अराममाथि विजयको काँड़!” एलीशाले भने। “तपाईंले अपेकमा अरामीहरूलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेछ।” त्‍यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्‌।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्‍नुहोस्‌।” तिनले तीन पल्‍ट हानेर थामे। परमेश्‍वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्‍ट हान्‍नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्‍नुहुनेथियो र त्‍यसलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्‍ट मात्र परास्‍त गर्नुहुनेछ।” त्‍यसपछि एलीशाको मृत्‍यु भयो, र तिनी गाड़िए। वर्षैपिच्‍छे मोआबी लूटपीट गर्नेहरू बसन्‍त ऋतुमा देशभित्र पस्‍थे। एक पल्‍ट कति जना इस्राएलीहरूले एउटा लाश गाड्‌दैगर्दा एक्‍कासि तिनीहरूले एक दल लूटपीट गर्नेहरूलाई देखे। यसैले तिनीहरूले त्‍यस लाशलाई एलीशाको चिहानमा त्‍यसै फ्‍याँकिराखेर भागे। जब त्‍यस लाशले एलीशाका हड्डीहरू छोयो, तब त्‍यो मानिस जीवित भएर आफ्‍नो खुट्टामा उभियो। यहोआहाजको राजकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई थिचोमिचो गरे। तर अब्राहाम, इसहाक र याकूबसितको आफ्‍नो करारको कारण परमप्रभुले तिनीहरूमाथि अनुग्रह गर्नुभयो र तिनीहरूलाई टिठ्याउनुभयो। उहाँले तिनीहरूको वास्‍ता गर्नुभयो। आजको दिनसम्‍मै उहाँले तिनीहरूलाई नाश गर्न अथवा तिनीहरूलाई उहाँको उपस्‍थितिदेखि निकाल्‍न इच्‍छा गर्नुभएको छैन। अरामका राजा हजाएल मरे, र तिनीपछि तिनका छोरा बेन-हदद राजा भए। तब यहोआहाजका छोरा येहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले लड़ाइँ गरी लिएका सहरहरू फेरि फिर्ता लिए। येहोआशले तीन पल्‍ट उनलाई जिते, र यसरी इस्राएलका सहरहरू तिनले फिर्ता लिए।