२ राजाहरू 12
12
योआशले मन्दिर मरम्मत गरेका
1येहूको सातौँ वर्षमा योआश राजा भए, र तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ सिब्या थियो। तिनी बेर्शेबाकी थिइन्। #२ इति २४:१-१६ 2यहोयादा पूजाहारीले तिनलाई सिकाएका सबै वर्षहरूभरि नै तिनले परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। 3तापनि अल्गा-अल्गा ठाउँहरू तिनले हटाएनन्। मानिसहरूले त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे।
4योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा पवित्र भेटीको रूपमा जनगणनामा जम्मा गरेको रकम, व्यक्तिगत भाकल गरेको रकम र राजीखुशीसँग मन्दिरमा ल्याएको रकम जम्मा गर। #प्रस ३०:११-१६ 5हरेक पूजाहारीले कुनै एक कोषाध्यक्षबाट रकम लिऊन्, र मन्दिरमा भएको कुनै पनि नोक्सानी मरम्मत गर्नलाई त्यो प्रयोग गरिओस्।”
6तर योआश राजाको तेईसौँ वर्षसम्म पनि पूजाहारीहरूले मन्दिरको मरम्मत गरेका थिएनन्। 7यसकारण योआश राजाले यहोयादा पूजाहारी र अरू पूजाहारीहरूलाई बोलाएर भने, “तिमीहरूले किन मन्दिरका भत्केका ठाउँहरू मरम्मत गरेका छैनौ? अब उप्रान्त तिमीहरूले आफ्ना कोषाध्यक्षहरूबाट रकम नलिनू, तर मन्दिरका मरम्मतको निम्ति त्यो हस्तान्तरण गर्नू।” 8यसकारण मानिसहरूबाट रुपियाँ अब नलिने र मन्दिरका मरम्मतको निम्ति तिनीहरू आफैले जिम्मा नलिने भनी पूजाहारीहरू सहमत भए।
9यहोयादा पूजाहारीले एउटा सन्दूक लिएर त्यसको बिर्कोमा प्वाल पारे। परमप्रभुको मन्दिरमा पस्ने ठाउँको दाहिनेतिर वेदीको छेउमा तिनले त्यो राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पूजाहारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हालिदिन्थे। 10जब-जब तिनीहरूले त्यो सन्दूक धेरै रकमले भरिएको देख्थे, तब राजाका सचिव र प्रधान पूजाहारी आएर परमप्रभुको मन्दिरमा यसरी ल्याएका रुपियाँको हिसाब गरेर थैलाहरूमा हाल्थे। 11तिनीहरूले रुपियाँपैसाको हिसाब लगाएपछि परमप्रभुको मन्दिरमा काम गर्नेहरूमाथि नियुक्त भएका मानिसहरूलाई त्यो रुपियाँपैसा दिन्थे। त्यसैबाट तिनीहरूले मन्दिरका निर्माणको काम गर्नेहरूलाई दिन्थे, 12अर्थात् सिकर्मीहरू, डकर्मीहरू र ढुङ्गा काट्नेहरूलाई। परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाएका ढुङ्गाहरू किने, र मन्दिरका पुनर्निर्माणको लागि अरू सबै खर्च गरे।
13तिनीहरूले चाँदीका कचौराहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई परमप्रभुको मन्दिरमा ल्याएका रकमबाट खर्च गरेनन्। 14त्योचाहिँ मन्दिर मरम्मत गर्न काम गर्ने मानिसहरूलाई दिइयो। 15काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँपैसाको हरहिसाब तिनीहरूले लिएनन्, किनभने तिनीहरूले पूरै ईमानदारीसाथ काम गर्थे। #२ राज २२:७ 16दोषबलि र पापबलिका भेटीको रकमचाहिँ परमप्रभुको मन्दिरमा ल्याइँदैनथ्यो। त्योचाहिँ पूजाहारीहरूकै हुन्थ्यो। #लेवी ७:७
17प्राय: त्यसै बेला अरामका राजा हजाएलले उक्लेर गई गातमाथि आक्रमण गरी त्यो दखल गरे। त्यसपछि उनी यरूशलेमलाई आक्रमण गर्न अगि फर्के। 18तर यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, योराम र अहज्याहले समर्पण गरेका सबै पवित्र थोकहरू र आफैले समर्पण गरेका उपहारहरू र परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूमा भेट्टाएका सबै सुन लिएर अरामका राजा हजाएलकहाँ पठाइदिए। त्यसपछि उनी यरूशलेमबाट फर्के।
19योआशको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 20तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा मारे। 21तिनलाई मार्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
अहिले सेलेक्ट गरिएको:
२ राजाहरू 12: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012