२ कोरिन्थी 13
13
आखिरी चेताउनी
1तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।#व्य १७:६; १९:१५ 2दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्नेछैनँ— 3किनकि ख्रीष्ट ममा बोल्नुहुन्छ भन्ने प्रमाण तिमीहरू चाहन्छौ। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ। 4किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौं, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं।
5तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो! 6म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ। 7तर हामी परमेश्वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर। 8किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं। 9किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं। 10तिमीहरूबाट अलग हुँदा म यो लेख्दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्। त्यो त उहाँले बनाउनका निम्ति दिनुभएको हो, भत्काउनका निम्ति होइन।
आखिरी अभिवादन
11अन्त्यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
12एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर। 13सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
14प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।
अहिले सेलेक्ट गरिएको:
२ कोरिन्थी 13: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012