२ इतिहास 31
31
1जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए। सारा यहूदा र बेन्यामीन, र एफ्राइम र मनश्शेका अल्गा-अल्गा थानहरू र वेदीहरू भत्काइदिए। त्यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्नो सहर र पैतृक भूमिमा फर्के।
पूजाहारी र लेवीहरूका निम्ति खानेकुराको बन्दोबस्त मिलाइएको
2त्यसपछि हिजकियाले पूजाहारीहरू र लेवीहरूलाई दल-दल गरी होमबलि र मेलबलि चढ़ाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्न आ-आफ्ना विशेष कामहरू हरेकलाई खटाइदिए। 3राजाले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाड़हरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए। #गन्ती २८:१—२९:३९ 4पूजाहारीहरू र लेवीहरू परमप्रभुको व्यवस्थामा नै लागिरहून् भनेर राजाले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग जुटाइदेऊन् भनी हुकुम गरे। #गन्ती १८:१२-१३,२१ 5राजाको हुकुम इस्राएलीहरूलाई दिने बित्तिकै तिनीहरूले आफ्ना अन्न, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल दिए। तिनीहरूले प्रशस्त मात्रामा— थोकको पूरा दशांश ल्याए। 6यहूदाका सहरमा बस्ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्तुको दशांश, अनि परमप्रभु तिनीहरूका परमेश्वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे। 7तिनीहरूले तेस्रो महिनामा थुपार्न सुरु गरे, र सातौँ महिनामा सिद्ध्याए। 8हिजकिया र तिनका अधिकारीहरू आएर ती थुपारिएका कुरा देख्दा, तिनीहरूले परमप्रभु र उहाँको प्रजा इस्राएललाई धन्यवाद दिए।
9यी थुपारिएका कुराहरूको विषयमा हिजकियाले पूजाहारीहरू र लेवीहरूसित सोधपूछ गरे। 10सादोकको वंशका प्रधान पूजाहारी अजर्याहले जवाफ दिए, “मानिसहरूले परमप्रभुको मन्दिरमा आ-आफ्नो भेटी ल्याएको समयदेखि यसो हामीहरूलाई खानका निम्ति प्रशस्त भयो अनि उब्रेका पनि छन्, किनभने परमप्रभुले उहाँको प्रजालाई यति धेरै आशिष् दिनुभएको छ, कि यी धेरै कुरा उब्रेका पनि छन्।”
11तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र ती तयार गरिए। 12अनि मानिसहरूले ईमानदारीसाथ आ-आफ्ना भेटीहरू, दशांश र तिनीहरूले अर्पण गरेका दानहरू ल्याए। तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, अनि तिनका भाइ शिमीचाहिँ उपअधिकृत थिए। 13राजा हिजकिया र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले कोनन्याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।
14परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्न परमेश्वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरू लेवी यिम्नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्मामा थिए। 15दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्सा बाँड्न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे।
16वंशावलीमा नाउँ लेखिएका परमप्रभुको मन्दिरमा नित्य खटिएका काम गर्ने तीन वर्ष र त्यसभन्दा बढ़ी उमेरका पुरुषहरू सबैलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँड़िदिए। 17त्यसबाहेक वंशावलीमा आफ्ना परिवार-परिवारअनुसार नाउँ लेखिएका पूजाहारीहरू अनि बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू सबैलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँड़िदिए। 18यी वंशावलीका पुस्तकहरूमा नाउँ लेखिएका सारा समुदाय, तिनीहरूका पत्नी र छोराछोरीहरूसमेत, सबैलाई भाग बाँड़िएको थियो। किनभने तिनीहरूले आफू-आफूलाई विधिपूर्वक शुद्ध गर्दथे।
19अनि सहरहरूका छेउछाउका बस्तीहरूमा र अरू कुनै गाउँमा बस्ने हारूनका वंशका पूजाहारीहरूमध्ये हरेक पुरुषलाई अनि लेवीहरूका वंशावलीमा नाउँ लेखिएका पूजाहारीहरू सबैलाई पनि आ-आफ्नो भाग दिन विशेष मानिसहरू खटाइए।
20हिजकियाले यहूदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा जे असल, ठीक र विश्वासयोग्य थिए, ती नै तिनले गरे। 21परमप्रभुका मन्दिरको सेवामा र आफ्ना परमेश्वरको अगुवाइ खोज्न उहाँका व्यवस्था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र आफ्ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 31: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012