YouVersion लोगो
खोज आइकन

२ इतिहास 26

26
यहूदाका राजा उज्जियाह
1तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्‍जियाहलाई#26:1 अथवा अजर्याह लिएर तिनका पिता अमस्‍याहको सट्टामा राजा तुल्‍याए। #२ राज १४:२१-२२; १५:१-७ 2अमस्‍याह आफ्‍ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।
3उज्‍जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यकोल्‍याह थियो। तिनी यरूशलेमकी थिइन्‌। 4तिनले आफ्‍ना पिता अमस्‍याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे। 5तिनलाई परमेश्‍वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा तनमन लगाए। परमप्रभुलाई खोज्‍दैरहुञ्‍जेलसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो।
6तिनी पलिश्‍तीहरूसँग युद्ध गर्न रणभूमिमा गए, र गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू तिनले भत्‍काइदिए। तिनले अश्‍दोदको नजिक र पलिश्‍तीहरूका बीचमा सहरहरू बनाए। 7परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो। 8अम्‍मोनीहरूले उज्‍जियाहकहाँ सौगातहरू ल्‍याए, अनि तिनको ख्‍याति मिश्रदेशको सिमानासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए।
9तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे। 10तिनले उजाड़-स्‍थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्‍यान दिन्‍थे।
11यसबाहेक उज्‍जियाहको तालीम पाएका र युद्धको निम्‍ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्‍याहको अधीनमा यिनीहरूलाई राखेका थिए। 12वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्‍मा संख्‍या २,६०० थियो। 13तिनीहरूको अधीनमा राजालाई शत्रुहरूका विरुद्धमा सहायता गर्न ३,०७,५०० योद्धाहरू भएको एक लड़ाकू सेना पनि थियो। 14जम्‍मै सेनाको निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे। 15धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्‍ने यन्‍त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्‍तो आश्‍चर्यको सामान मिलेको कारण तिनको ख्‍याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्‍यादै शक्तिशाली भए।
16तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्‍नलाई परमप्रभुको मन्‍दिरमा पसेर परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा तिनले विश्‍वासघात गरे। 17तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्‍जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने, 18“हे उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन। यस कामको निम्‍ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्‌। पवित्रस्‍थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्‍वासघात गर्नुभएको छ। परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।” #प्रस ३०:७-८; गन्ती ३:१०
19हातमा धुपौरो लिएर धूप बाल्‍न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो। 20प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्‍दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।
21राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कोरी भए। तिनी अलग्‍गै घरमा कोरी भएर बस्‍न लागे। परमप्रभुको मन्‍दिरभित्र तिनी पस्‍न पाएनन्‌। राज्‍यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्‍य चलाउन लागे।
22उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌। 23उज्‍जियाह आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्‍थे, “तिनी एक कोरी हुन्‌।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए। #यशै ६:१

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 26: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्