YouVersion लोगो
खोज आइकन

२ इतिहास 1

1
बुद्धिको निम्ति सोलोमनको प्रार्थना
1दाऊदका छोरा राजा सोलोमनले आफ्‍नो राज्‍यमा अधिकार स्‍थिर गरे, किनभने परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई महान्‌ तुल्‍याउनुभयो। #१ राज ३:१-१५
2तब सोलोमनले सबै इस्राएलसित, अर्थात्‌ सहस्रपति र शतपति, न्‍यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे। 3अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि परमेश्‍वरका दास मोशाले उजाड़-स्‍थानमा बनाएको परमेश्‍वरको भेट हुने पाल त्‍यहीँ थियो। 4दाऊदले चाहिँ परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्‍याएका थिए, किनभने तिनले यरूशलेममा नै त्‍यसको निम्‍ति पाल टाँगेका थिए। #२ शमू ६:१-१७; १ इति १३:५-१४; १५:२५—१६:१ 5तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्‍यहीँ गए। #प्रस ३८:१-७ 6त्‍यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीसम्‍म तिनी गएर त्‍यसमा एक हजार होमबलि चढ़ाए।
7त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।”
8सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ। 9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ। #उत १३:१६; २८:१४ 10अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?”
11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले, 12बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।”
13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे। #१ राज १०:२६-२९
14सोलोमनले धेरै रथ र घोड़ाहरू जम्‍मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्‍ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे। #१ राज ४:२६ 15राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्‍जीरसरह प्रशस्‍त तुल्‍याए। 16सोलोमनका घोड़ाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। राजाका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे। #व्‍य १७:१६ 17प्रत्‍येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्‍थे। त्‍यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्‍यापारीहरूले प्राप्‍त गर्थे।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 1: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्