१ शमूएल 3
3
शमूएलको बोलावट
1अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो, अनि दर्शन पनि उस्तो दिइँदैनथ्यो।
2एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए, र तिनले राम्ररी देख्न सक्दैनथे। 3शमूएलचाहिँ परमेश्वरको सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेको थियो। परमेश्वरको बत्ती निभेको थिएन। 4तब परमप्रभुले शमूएललाई बोलाउनुभयो।
शमूएलले जवाफ दिए, “म यहीँ छु।” 5अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।”
तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” तब तिनी गएर सुते।
6परमप्रभुले फेरि शमूएललाई बोलाउनुभयो। अनि तिनी उठेर एलीकहाँ गए र तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभयो।”
एलीले भने, “मेरो छोरो, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।”
7अब शमूएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन।
8परमप्रभुले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।”
तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे। 9उनले शमूएललाई भने, “ढल्किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्नू, ‘परमप्रभु, भन्नुहोस्, तपाईंको दास सुन्दैछ’।” तब शमूएल गएर आफ्नो ठाउँमा ढल्किए।
10तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।”
शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।”
11अनि परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछन्। 12जब त्यो दिन आउनेछ तब मैले एली र त्यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्मै म पूरा गर्नेछु। 13मैले त्यसलाई भनेको थिएँ, कि म त्यसका परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरुद्धमा त्यसका छोराहरूले आफूलाई घृणास्पद बनाएका जानेर पनि त्यसले तिनीहरूलाई रोकेन। 14यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।”
15शमूएल बिहानसम्मै सुतिरहे। त्यसपछि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले। त्यस दर्शनको विषयमा एलीलाई भन्न तिनी डराए, 16तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।”
तिनले भने, “म यहाँ छु।”
17एलीले सोधे, “परमप्रभुले तँलाई के भन्नुभयो? मलाई त्यो नलुकाई भन्। उहाँले तँलाई भन्नुभएका सबै कुरामा एउटै कुरा लुकाइस् भने पनि परमेश्वरले तँसित कठोरतासाथ व्यवहार गरून्।” 18यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्। एलीले भने, “उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको दृष्टिमा जे कुरो ठीक छ, सो गरून्।”
19जसै शमूएल बढ्न लागे, परमप्रभु तिनीसँग हुनुभयो, र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन। 20अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएल परमप्रभुका अगमवक्ता भएछन् भनी मान्यता दिए। 21परमप्रभु शीलोमा देखा पर्दैरहनुभयो, र त्यहाँ उहाँले आफ्नो वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 3: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012