YouVersion लोगो
खोज आइकन

१ राजाहरू 5

5
मन्दिरका निर्माणको तयारी
1सोलोमन आफ्‍ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन्‌ भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए। #२ इति २:१-१८ 2सोलोमनले हीरामकहाँ यो खबर पठाए:
3“तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्‍जेल परमप्रभु उहाँका परमेश्‍वरका नाउँको निम्‍ति उहाँले एउटा मन्‍दिर बनाउन सक्‍नुभएन। 4तर अब परमप्रभु मेरा परमेश्‍वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन। 5यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्‍नुभएबमोजिम परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मैले निश्‍चय गरेको छु। परमेश्‍वरले दाऊदलाई यसो भन्‍नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्‍नेछु, त्‍यसैले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ।” #२ शमू ७:१२-१३; १ इति १७:११-१२
6“यसकारण मेरो निम्‍ति लेबनानबाट देवदारुका रूख काट्‌ने हुकुम दिनुहोस्‌। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्‍याला तोक्‍नुहुन्‍छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्‍नुहुन्‍छ, सीदोनीहरूजस्‍तै रूखहरू ढाल्‍ने सिपालु हाम्रा कुनै मानिस छैन।”
7जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्‍यन्‍तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ।”
8उनले सोलोमनलाई यो समाचार पठाए:
“तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। देवदारु र सल्‍लाका काठको विषयमा तपाईंले माग्‍नुभएबमोजिम म सबै जुटाइदिनेछु। 9मेरा मानिसहरूले लेबनानबाट समुद्रसम्‍म मूढ़ाहरू झार्नेछन्, र ती बाँधेर तपाईंले तोक्‍नुभएको ठाउँमा बगाएर पठाउन लाउनेछु। म त्‍यहाँ ती खोल्‍न लाउनेछु, र तपाईंले ती लैजान सक्‍नुहुनेछ। अनि मेरा राजकीय घरानाको निम्‍ति तपाईंले खानेकुरा जुटाइदिएर तपाईंले मेरो इच्‍छा पूरा गरिदिनुहोस्‌।”
10यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका मूढ़ाहरू हीरामले पठाइदिए, 11र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्‍ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्‍छे हीरामलाई पठाइदिए। 12आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्‍तिको सम्‍बन्‍ध थियो, र ती दुवैले सन्‍धि बाँधे।
13सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्‍मा गरे। 14तिनले तिनीहरूलाई प्रत्‍येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्‍थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्‍मावाल अदोनीराम थिए। #१ राज १२:१८ 15सोलोमनका सत्तरी हजार भरियाहरू र पहाड़मा असी हजार ढुङ्गा काट्‌ने मानिसहरू थिए। 16मजदूरहरूका काम हेर्न र रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइकेहरू थिए। 17राजाको हुकुमअनुसार तिनीहरूले परमप्रभुको मन्‍दिरको निम्‍ति काटेका ढुङ्गाको जग बसाल्‍नलाई विशेष किसिमका ढुङ्गाहरू फोरेर निकाले। 18सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्‍दिर बनाउनका निम्‍ति काठ र ढुङ्गाहरू काटेर तयार गरे।

अहिले सेलेक्ट गरिएको:

१ राजाहरू 5: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्