YouVersion लोगो
खोज आइकन

१ राजाहरू 19:9-18

१ राजाहरू 19:9-18 NNRV

तिनी त्‍यहाँ एउटा ओड़ारभित्र पसे र त्‍यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्‌?” तिनले भने, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।” परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो। जब एलियाले त्‍यो सुने तब तिनले आफ्‍नो खास्‍टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्‍यो, “एलिया, तँ यहाँ के गर्दैछस्‌?” तिनले जवाफ दिए, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्र बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।” परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ जुन बाटो आएको छस्, त्‍यही बाटो फर्किगएर दमस्‍कसको मरुभूमिमा जा। जब तँ त्‍यहाँ पुग्‍छस्‌ तब हजाएललाई अरामको राजा अभिषेक गर्‌। तब निम्‍शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्‌। हजाएलको तरवारबाट उम्‍कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्‍कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्‍छु— ती सबै जसले बालको सामुन्‍ने आफ्‍ना घुँड़ा टेकेका छैनन्‌ र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्‌।”