१ यूहन्ना 5
5
परमेश्वरका पुत्रमाथि विश्वास
1येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। 2जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं। 3परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।#यूह १४:१५ 4किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। 5संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
6उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो। 7गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। 8किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। 9यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन् उच्च छ। किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। 10जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। 11गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।#यूह ३:३६ 12जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन।
अन्तिम सन्देश
13तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। 14परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। 15हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ।
16यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ। 17सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।
18परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन। 19हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। 20हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
21साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।
अहिले सेलेक्ट गरिएको:
१ यूहन्ना 5: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012