YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 1:18-31

१ कोरिन्थी 1:18-31 NNRV

किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो। किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।” बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र? संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो। किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌। तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो। तर ती बोलावट भएकाहरूका निम्‍ति, चाहे यहूदीहरू होऊन्‌ वा ग्रीकहरू होऊन्, ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र बुद्धि हुनुहुन्‍छ। किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ। किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्‍ता थियौ? सो विचार गर। सांसारिक स्‍तरअनुसार तिमीहरूमध्‍ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ। तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो। परमेश्‍वरले संसारका नीच र तुच्‍छ ठहरिएका कुराहरूलाई चुन्‍नुभयो। यहाँसम्‍म कि नगण्‍य कुराहरूलाई पनि चुन्‍नुभयो, यस हेतुले कि जुन कुरा छन्‌ ती व्‍यर्थ ठहरिऊन्, यसैले कुनै प्राणीले परमेश्‍वरको सामुन्‍ने अहङ्कार नगरोस्‌। परमेश्‍वर नै ख्रीष्‍ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्‍छ, ख्रीष्‍टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। यसैले लेखिएको छ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्‌।”