१ इतिहास 14
14
दाऊदका घर र परिवार
1टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्ति एउटा महल बनाउन पठाए। #२ शमू ५:११-१६ 2अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको प्रजा इस्राएलको खातिर आफ्नो राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो।
3दाऊदले यरूशलेममा अझ धेरै विवाह गरे, र तिनका अरू धेरै छोराछोरीहरू भए। 4यरूशलेममा जन्मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, 5यिभार, एलीशूअ, एल्पेलेत, 6नोगह, नेपेग, यापी, 7एलीशामा, बेलीयादा र एलीपेलेत।
पलिश्तीहरूमाथि दाऊदको विजय
8दाऊद सारा इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू समस्त फौज लिएर तिनलाई खोज्न निस्के। यो सुनेर दाऊद उनीहरूको सामना गर्न गए। #२ शमू ५:१७-२५ 9अब पलिश्तीहरूले आएर रपाईहरूको बेँसी लुटेका थिए। 10यसैकारण दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईं उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुन्छ?”
अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म उनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
11यसैले दाऊद र तिनका मानिसहरू उक्लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्यसको किनार भत्काएझैँ परमेश्वरले मद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनुभयो।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम#14:11 “बाल-पराजीम” को अर्थ “भत्काउनुहुने परमप्रभु” हो। राखियो। 12पलिश्तीहरूले त्यहाँ आफ्ना देवताहरू छोड़ेका थिए, र दाऊदले ती जलाइदिन भनी हुकुम दिए।
13पलिश्तीहरूले अर्को एक पल्ट बेँसीमा लूटपीट गरे। 14फेरि दाऊदले परमेश्वरसँग सोधे, र परमेश्वरले तिनलाई भन्नुभयो, “यस पल्ट तँ उनीहरूको पछिल्तिर जानुपर्छ। उनीहरूलाई आक्रमण नगरिकन घुमेर लहरे-पीपलका रूखहरूका सामुन्नेबाट उनीहरूमाथि जाइलाग्। 15त्यसपछि रूखहरूका टुप्पा-टुप्पामा हुरुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लड़ाइँ गर्, किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई प्रहार गर्न जानुहुनेछ।” 16परमेश्वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे, र तिनीहरूले पलिश्ती सेनालाई गिबोनदेखि गेजेरसम्मै प्रहार गरे।
17यसैले दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जाति-जातिहरूमाथि तिनको डर हालिदिनुभयो।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 14: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012