मर्कूस 2
2
येशूले पक्षघातीलाई क्षमा गर्नुभएको र निको पार्नुभएको
1केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने। 2त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गरिरहनुभएको थियो। 3त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। 4तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले। 5जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
6यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए, 7“यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्वरनिन्दा गरिरहेका छन्! परमेश्वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?”
8तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? 9यस पक्षघातीलाई के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्नु? 10तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, 11“म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” 12त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!”
येशूले लेवीलाई बोलाउनुभएको
13एक पल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। 14त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।
15एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। 16जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
17यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
येशूलाई उपवासको विषयमा प्रश्न
18एक पल्ट यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?”
19येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्। 20तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्नेछन्।
21“कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्यो भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, र त्यो फटाइ झन् नराम्रो हुन्छ। 22त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।”
येशू शब्बाथका प्रभु
23एक शब्बाथमा येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्नका बाला टिप्न थाले। 24फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्?”
25उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए? 26प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्वरको भवनभित्र पसे, र परमेश्वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”
27तब येशूले तिनीहरूलाई भन्नुभयो, “शब्बाथ मानिसहरूका लागि बनाइएको हो, तर मानिस शब्बाथको निम्ति होइन। 28यसकारण मानिसको पुत्र शब्बाथको पनि प्रभु हो।”
હાલમાં પસંદ કરેલ:
मर्कूस 2: NCV
Highlight
શેર કરો
નકલ કરો

Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.