YouVersion Logo
Search Icon

प्रकाश 14

14
थुमा र एक लाख चवालीस हजार
1तब मैले हेरें, अनि मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखें, उहाँसँग एक लाख चवालीस हजारलाई देखें, जसको निधारमा उहाँको र उहाँका पिताको नाउँ लेखिएका थिए। 2तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनें। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए। 3तिनीहरूले सिंहासनको सामु, ती चारओटा जीवित प्राणीहरूको र प्रधानहरूको सामुन्‍ने एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती एक लाख चवालीस हजारले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। 4यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए, अनि परमेश्‍वर र थुमालाई पहिलो फलझैं चढाइए। 5तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।
तीन स्वर्गदूतहरू
6तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखें, अनि तिनीसित पृथ्वीमा बस्‍नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो। 7तिनले चर्को सोरले भने, “परमेश्‍वरसित डराओ, अनि उहाँलाई महिमा देओ, किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
8दोस्रो स्वर्गदूतले पनि आएर भने, सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् शहर बेबिलोनको पतन भयो! पतन भयो।”#14:8 यशै 21:9
9अनि ती दुईका पछि एकजना तेस्रो स्वर्गदूतले आएर चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने, 10त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा जल्दै गरेको गन्धकमा यातना दिइनेछ। 11अनि तिनीहरूका यातनाको धूवाँ सदा-सर्वदा उँभोतिर गइरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नाउँको छाप लगाउँछन् तिनीहरूले दिनरात आराम पाउनेछैनन्।” 12परमेश्‍वरका आज्ञाहरू पालन गर्ने, अनि येशूप्रति विश्‍वासयोग्य भइरहने परमेश्‍वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।
13तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनें, “यो लेख: अबदेखि उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।”
आत्मा भन्‍नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
पृथ्वीको कटनी
14मैले हेरें, अनि मेरो सामुन्‍ने एउटा सेतो बादल थियो, त्यस बादलमा एकजना “मानिसको पुत्रझैं” बसिरहनुभएको थियो,#14:14 हे. दानि 7:13 जसको शिरमा सुनको एउटा मुकुट अनि हातमा एउटा धारिलो हँसिया थियो। 15तब मन्दिरबाट अर्का स्वर्गदूत आए, अनि बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, अनि पृथ्वीको बाली पाकिसकेको छ।” 16यसरी बादलमा बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।
17स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो। 18आगोको जिम्मेवारी पाएका अझ अर्का स्वर्गदूत वेदीबाट आए, अनि धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल; किनकि अङ्गुर पाकिसकेको छ।” 19त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्गुर बटुले अनि तिनीहरूलाई परमेश्‍वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए। 20शहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, अनि दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो तीन सय किलोमिटर#14:20 मूल भाषामा 1,600 स्टेडिया भनिन्छ सम्म फैलिएको थियो।

Currently Selected:

प्रकाश 14: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in