YouVersion Logo
Search Icon

मर्कूस 11

11
यरूशलेममा येशूको विजयी प्रवेश
1उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, येशूले आफ्ना चेलाहरूमध्ये दुईजनालाई 2यसो भन्दै पठाउनुभयो, “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ; र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। 3यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, अनि केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
4तिनीहरू गए अनि सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउँदै गर्दा, 5त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?” 6तिनीहरूले येशूले भन्‍नुभएझैं जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जानदिए। 7जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, अनि तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, उहाँ त्यसमाथि बस्‍नुभयो। 8धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिँदै गए, अनि अरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए। 9ती अघि-अघि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे,
“होसन्‍ना!”#11:9 अर्थात् हामीलाई बचाउनुहोस्
“उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!”#11:9 भजन 118:25, 26
10“हाम्रा पिता दाविदको आउने राज्य धन्यको हो!”
“परमधाममा होसन्‍ना!”
11येशू यरूशलेममा पसेर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सब कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्रजनासित बेथानीमा जानुभयो।
येशूले नेभाराको रूखलाई श्राप दिनुभएको र मन्दिर शुद्ध पार्नुभएको
12भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो। 13केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन, किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन। 14तब उहाँले त्यस रूखलाई भन्‍नुभयो, “अबदेखि उसो तँबाट कसैले फल नखाओस्।” अनि उहाँका चेलाहरूले उहाँले यसो भन्‍नुभएको सुनेका थिए।
15यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो। 16अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन। 17अनि उहाँले तिनीहरूलाई सिकाउनुहुँदा, यसो भन्‍नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूको लागि प्रार्थनाको घर हुनेछ,’#11:17 यशै 56:7 तर तिमीहरूले यसलाई ‘डाँकूहरूको ओडार’ बनाएका छौ।”#11:17 यर्मिया 7:11
18मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूले यो सुने, अनि उहाँलाई मार्ने उपाय खोज्न थाले; किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्‍क परेको हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
19साँझ परेपछि येशू र उहाँका चेलाहरू शहरबाहिर जानुभयो।
20बिहान उहाँहरू जाँदै गर्नुहुँदा, उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैदेखि सुकेको देख्नुभयो! 21पत्रुसले सम्झिए अनि येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले सराप्नुभएको अञ्जीरको रूख त सुकेछ!”
22येशूले जवाफ दिनुभयो, “परमेश्‍वरमा विश्‍वास राख। 23म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ अनि आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ त्यो पूरा हुन्छ भनेर विश्‍वास गर्‍यो भने, यो उसको लागि गरिनेछ। 24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै मागे तापनि तिमीहरूले ती पायौ भनी विश्‍वास गर, अनि त्यो तिमीहरूको हुनेछ। 25अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने, उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गरिदिऊन्। 26तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।#11:26 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन
येशूको अधिकारबारे प्रश्न
27उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, अनि येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए। 28तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि यी कुराहरू गर्नु भनी तिमीलाई यो अधिकार कसले दियो?”
29येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, अनि म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु भनेर भन्‍नेछु। 30यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
31तब तिनीहरूले आपसमा बहस गरे, अनि भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौं भने, उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ?’ भनी भन्‍नेछन्। 32तर यदि हामीले ‘मानिसहरूबाट’ भनौं भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे, किनकि हरेकले यूहन्‍नालाई साँच्‍चै अगमवक्‍ता भनी मान्थे।)
33त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।”
अनि येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।”

Currently Selected:

मर्कूस 11: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in