YouVersion Logo
Search Icon

हिब्रूहरू 13

13
अन्तिम अर्ती
1एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीहरूलाई झैं प्रेम गरिरहो। 2अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अन्जानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्। 3कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैं, अनि दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैले कष्‍ट भोग गरेझैं सम्झिदेओ।
4विवाहलाई सबैले आदरणीय मानून्, अनि ओछ्यान नबिटुलियोस्; किनकि परमेश्‍वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ। 5तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्‍त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ,
“म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।”#13:5 व्यव 31:6
6यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौं,
“प्रभु मेरा सहायक हुनुहुन्छ, म कहिल्यै डराउँनेछैनँ।
मानिसले मलाई के गर्न सक्छ र?”#13:6 भजन 118:6, 7
7आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूसित परमेश्‍वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्‍वासको अनुकरण गर। 8येशू ख्रीष्‍ट हिजो, आज अनि सदा-सर्वदा एकसमान हुनुहुन्छ।
9सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन। 10हाम्रो एउटा वेदी छ, जसबाट खानलाई ती वासस्थानमा सेवा गर्नेहरूलाई अधिकार छैन।
11प्रधान पूजाहारीले पाप शुद्धीकरणको बलिको रूपमा पशुहरूको रगत महा पवित्रस्थानमा लिएर जान्छन्, तर शरीर त छाउनीबाहिर नै जलाइन्छन्। 12यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई शहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो। 13त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको अपमान सहौं। 14किनकि यस पृथ्वीमा हाम्रो स्थायी शहर छैन, तर हामी त आउनेवाला शहरको प्रतीक्षा गरिरहेका छौं।
15यसकारण हामी येशूद्वारा परमेश्‍वरलाई सदैव प्रशंसाको बलिदान चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। 16अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।
17तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर, र तिनीहरूका अधिकारको अधीनतामा बस; किनकि तिनीहरूले परमेश्‍वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्र ता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।
18हाम्रो निम्ति प्रार्थना गर। हाम्रो विवेक सफा छ भन्‍ने हामी निश्‍चित छौं; र हर प्रकारले आदरसाथ जिउने चाहना गर्छौं। 19म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ।
आशिष र अन्तिम अभिवादन
20अब शान्तिका परमेश्‍वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो, 21उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्‍टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदा-सर्वदा महिमा होस्। आमेन!
22अनि दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई मेरो अर्ती सुनिदेओ भनी आग्रह गर्दछु; किनकि मैले तिमीहरूलाई एउटा छोटो पत्र लेखेको छु।
23हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्‍ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु।
24तिमीहरूका सबै अगुवाहरू र परमेश्‍वरका जनहरूलाई अभिवादन सुनाइदेओ।
इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
25तिमीहरू सबैसित अनुग्रह रहोस्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in